समाज

'हेलाे सरकार'काे अाैचित्यमाथि प्रश्न चिह्न ! अव कसरी गर्ला कामकारवाही ?

नेत्र पाैडेल

'हेलाे सरकार'काे अाैचित्यमाथि प्रश्न चिह्न ! अव कसरी गर्ला कामकारवाही ?

काठमाडाैं । वाम गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै मन्त्रालयलाई घटाउने निर्णय गर्यो । गठबन्धले यस अघि रहेका ३१ वटा मन्त्रालयलाई घटाएर १८ वटा बनाएको छ । मन्त्रालयको कार्यविभाजनमा फेरबदल भइरहँदा हेलो सरकारको कामकरवाही प्रभाव परेको देखिएको हो ।

 

वाम गठबन्धनको सरकार गठनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले काम कारवाहीमा असर परेको हो । प्रत्यक्ष जनताको गुनासो सुनेर कारवाही प्रक्रिया अगाडि बढाउने उद्देश्यले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईले सञ्चालनमा ल्याएको हेलो सरकारको संरचनालाई पुनः संयोजन गर्नु पर्ने भएको छ । सरकारले पाँचै वटै विकास क्षेत्रमा हेलो सरकारको क्षेत्रीय कार्य सञ्चालन गरेर जनताको गुनासो लिँदै आएको छ । तर, अहिले विकास क्षेत्र खारेज भई प्रादेशिक निकाय सञ्चालन आएका छन् ।

 

मन्त्रालयहरुको कार्य विभाजनमा फेरबदल भएकाले हेलो सरकारको विद्युतीय प्रणालीमा पनि सुधार गर्नु पर्ने भएको छ । सरकारले मन्त्रालय घटाएको भएता पनि विद्युतीय प्रणालीमा फेरबदल नगरेसम्म पुरानै संरचनाअनुसार तय हुँदै आएका निकायमा गुनासा पुग्ने देखिन्छ । जसका कारण गुनासा सुनुवाईमा समय लाग्नाले सेवाग्राही मर्कामा पर्ने देखिन्छ ।

 

‘हाल मन्त्रालयहरुको कार्य विभाजनमा फेरबदल भएको छ । हाम्रो हेलो सरकारको विद्युतीय प्रणालीमा समसामयिक सुधार अपेक्षित छन्’ हेलो सरकारको ट्वीटमा भनिएको छ, ‘पुराना मन्त्रालयअनुसारका नोडल अधिकृतहरु पनि नयाँ संरचना अनुसार तय हुँदै गरेको हुँदा अहिले गुनासाहरु पुरानै स्वरूप अनुसार सम्बन्धित निकायहरुमा गैरहेका छन् ।’

 

अहिलेसम्म हेल्लो सरकारमा ७० हजार २ सय ४७ जना जनताले गुनासो पेश गरेका छन् भने ५९ हजार १ सय ४१ गुनासो फछ्यौट भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यलयका अनुसार ११ हजार १ सय ६ गुनासा निरुपण हुन बाँकी छन् ।

 

धेरै गुनासा पाँच वटा मन्त्रालयमा परेका छन् । पाँचवटा मन्त्रालय मध्ये सबैभन्दा धेरै गृह मन्त्रालयमा ११ हजार ६ सय ७२ गुनासा परेका छन् । त्यस्तै, शिक्षा मन्त्रालयमा ६ हजार ३ सय २५, स्वास्थ्य मन्त्रालयमा ३ हजार २१, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ५ हजार ९ सय ४८ र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ५ हजार ४ सय ४५ गुनासा परेको छन् ।

 


हेलो सरकारमा देशभरबार आएको जनताको गुनासो टिपेर कारबाही प्रक्रिया अगाडि प्रक्रिया अगाडि बढाउने गरेको छ । विसं २०६८ कात्तिक १७ गतेबाट जनताको गुनासो सुन्न पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नै कार्यकक्षबाट हेलो सरकारको सुरुवात गरेका थिए । हेलो सरकारमा अहिले टेलिफोन, फ्याक्स, इमेल, फेसबुक र ट्वीटरबाट पनि गुनासो लिने गरिएको छ ।

विशेष