नायिका बनाइदिन्छु भन्दै हाेटेलमा लिएर किशोरीको बलात्कार गर्ने फोटोग्राफर पक्राउ
काठमाडौं । किशोरीलाई नायिका बनाइदिन्छु भन्दै बलात्कार गरेको आरोपमा एक फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ। चितवनको खैरहनी–१३ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने अमन तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङले आफू कलाकार भएको र धेरै निर्देशकसँग चिनेको विश्वासमा पारी किशोरीलाई नायिका बनाउने प्रलोभन दिएका थिए। फिल्मका लागि कुरा गर्न भन्दै होटलमा बोलाएर उनले किशोरीमाथि यौनशोषण गरेका हुन्।
फरार रहेका तामाङविरुद्ध किशोरीको जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो। उनी पेसाले फोटोग्राफर भएको गौशाला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए। सुरुमा उनले किशोरीलाई नयाँ बसपार्कको होटलमा बोलाएर बलात्कार गरेका थिए। पछि गौशालाको होटलमा बोलाएर नायिका बनाइदिने भन्दै सम्बन्ध राखेका थिए। त्यसपछि फरार उनी पक्राउ परेका हुन्।
तामाङसँग युवतीको फेसबुकमार्फत चिनजान भएको थियो। फेसबुक च्याटमा तामाङले आफू कलाकार भएको भन्दै भ्रममा पारेका थिए। उनी सामान्य कार्यक्रम तथा बिहेहरुमा फोटो खिच्ने काम गर्दै आएका थिए।
मोबाइल स्वीच अफ गरेर फरार रहेका तामाङलाई प्रहरीले १८ गते पक्राउ गरेको हो। जर्बजस्ती करणी मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको डिएसपी श्रेष्ठले बताए।