सफलताको कथा

२४ वर्षमै सिउँदाे पुछिएकी देवीकाे संघर्ष कथा

नारी दिवसका अवसरमा आज देवीलाई सम्मान गरिने कार्यक्रम

२४ वर्षमै सिउँदाे पुछिएकी देवीकाे संघर्ष कथा

लिबाङ । बाबुआमाको खुशीका लागि १६ वर्षकै कलिलो उमेरमा डोली चढेकी साविक रामपुर गाविस–२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमै सिउँदो पुछियो । 


आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवी आफ्ना लागिभन्दा पनि परिवारको खुशीमा समर्पित भइन् । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवीले चाहेर पनि केही गर्न सकिनन् । 


जिन्दगी नितान्त आफ्नो थियो तर देवीले सधैँ अरुकै लागि बाँचिरहनु पर्यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती नै सिउँदो पुछियो । उनले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै गइन् । 

 


विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो ।

 

रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भइरहेकाे थियो । श्रीमान् पसल सञ्चालन गर्नुहुन्थ्यो, पसलबाट राम्रै दैनिकी चलिरहेकै बेला जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका पतिकाे मोटरसाइकल दुर्घटनामा निधन भयो । 



श्रीमानकाे निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा भइसकेकी थिइन् । पतिकाे निधन हुँदा देवीको न त आर्थिक अवस्था सबल थियो न हातमा कुनै सीप नै  । जसका कारण श्रीमानकाे काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किइन् । 



शुरुशुरुका दिनमा देवीको धेरै आँशु बगे । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक बीचबाटोमै भक्कानिएकी छु देवीले सुनाइन् । कतिपटक त मध्यरातमा छिमेकीले ढोका खोलेर देवीका आँशु पुछेको उनले अझै भुलेकी छैनन् । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उनले श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालिन् ।

  

उनलाई शुरुशुरुमा श्रीमानले मजधारमा ल्याएर छोडेको पसल सञ्चालन गर्न निकै गाह्रो भयो । तर विस्तारै क्षमता विकास हुँदै गएपछि व्यापार राम्रो चलेको देवीले सुनाइन् । यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो । तर दुःखको कुरा श्रीमानकाे निधन भएको करिब एक महिना नपुग्दै साढे दुई लाख रूपैयाँको तमसुकसहित साहु आएपछि उनी थप चिन्तित बनिन् । तर करिब एक वर्ष नपुग्दै उनले श्रीमानले लगाएको ऋण चुक्ता गर्न सफल भइन् ।


“शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उनले भनिन् ।


करिब रु दुई लाखबाट सञ्चालन भएको व्यवसाय हाल रु आठ लाख बराबरको पुगिसकेको छ । उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा पढ्छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०–२२ हजार बचत हुँदै आएको छ भने उनले कोहलपुरमा एउटा घडेरीसमेत लिइसकिन् । 


“आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उनले भनिन् । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु” देवीले भनिन् ।


कठिन परिस्थितिसँग डराएर होइन हिम्मत गरेर अघि बढ्न सके सफल भइँदोरहेछ भन्ने राम्रो उदाहरण बन्न सफल भएकी छिन्, देवी । यसै कुरालाई मध्यनजर गर्दै महिला तथा बालबालिका कार्यालय, रोल्पाले नारी दिवसका अवसरमा आज देवीलाई पाँच हजार रूपैयाँ नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दै छ । 



महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खु्ल्ला हृदयले प्रशंसा गरेका छन् । उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनुपर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ । विभिन्न कारण तथा बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् । 



तर देवीजस्तै संघर्ष गर्नसके अन्य महिलाको जीवनस्तरमा पनि सुधार आउने उनको धारणा छ । यस वर्षको महिला दिवसले सम्पूर्ण महिलालाई आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्दै आचार्यले सम्पूर्ण रोल्पाली महिलालाई शुभकामना पनि दिएका छन् ।

 

विशेष