विश्वभरका महिलाका कथा काठमाडाैंमा देखाइँदै
नारी दिवसको अवसरमा गरिएको फिल्म फेस्टिबलमा २३ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ
काठमाडाैं । भृकुटीमण्डपमा आयोजित छैटाैं नेपाल ह्युमन राईट्स इन्टरनेशनल फिल्म फेस्टिबलमा विश्वभरका महिला र तिनले भाेगेका कथा प्रदर्शन भइरहेका छन् । महिला दिवसको अवसरमा गरिएको फिल्म फेस्टिबलमा २३ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ।
बुधवार ‘इभन ह्वेन आइ फल‘वृत्तचित्र देखाएर फेस्टिबलको शुभारम्भ गरिएको थियो। सर्कसमा बेचिने नेपाली चेलीहरुको कथा समेटिएको ८९ मिनेट लामो वृत्तचित्र 'इभन ह्वेन आइ फल' नेपालका स्काई नेपाल र बेलायतकी काते म्याकलार्ननले निर्देशन गरेकी हुन्।
बिहीबार बिहान १० बजे इन्डोनेसियन गर्भवती आमाको कथा ‘एक्स्ट्रा अर्डिनरी मदर‘ देखाइएकोछ। ७७ मिनेटकाे यो वृत्तचित्र पातार सिमातुपाङले निर्देशन गरेका हुन्। त्यसैगरी ११:३० बजे बनारस वरपर बस्ने महिलाहरुको सामाजिक सांस्कृतिक कथा बुनिएको ५२ मिनेट लामो ’वुमन अफ वाराणसी‘ देखाइनेछ जसलाई ममता सिंहले निर्देशन गरेकी हुन्।
निर्देशक साराह डफद्वारा निर्देशित २३ मिनेट लामो दक्षिण अफ्रिकन कथा ‘फुट प्रिन्ट १२:१५ बजे देखाइनेछ। द्वन्द्वग्रस्त अफगानी महिला र उनको छोरीले इरानमा गरेको संघर्ष कथा समेटिएको २५ मिनेट लामो ‘कम्प्यारिअट’ पनि बिहीबार नै देखाइनेछ। यो वृत्तचित्र मानवशास्त्री महताब सोलेमनीले गरेकी हुन्।
जाम्बियाको कथा ‘कलर्स अफ दि अल्फाबेट’ र नेपाली महिलाको कथा ’डटर अफ दि कर्भ मुन’ पनि बिहीबार नै देखाइँदैछ। ९ मार्च शुक्रबार बिहान पाकिस्तानी महिलाको कथा ‘परविन रहमान : दि रिबेल अप्टिमिस्ट’ देखाएर फेस्टिबलको अन्तिम दिनको प्रारम्भ गरिनेछ।
त्यसैदिन मिचेलिनाले निर्देशन गरेकी पोल्याण्डमा कस्ने यहुदी महिलाका कथा 'मिस होलोकास्ट’ देखाइनेछ। अमेरिकाको‘ स्ट्याण्डिङ रक : टेक मि फ्रम रिभर‘ र बेलायतको‘ चिल्ड्रेन अफ दि स्नो ल्याण्ड’ पनि त्यसै दिन देखाइँदै छ। नेपाली टिनयज मेघना लामाको व्यावसायिक सफलता र संघर्ष बुनिएको ४४ मिनेट लामो ‘पिन्क टिफ्यानी’ र अमेरिकन नेपालीका कथा ‘थ्रेड अफ होप’ शुक्रबार नै प्रदर्शन हुनेछ।
कोलम्बियाको कथा ‘रेसिस्टेन्स इन पिस’ र जर्मनीको ‘आउटसाईडः पिस,इन्साइड स् वार‘ पनि त्यसै दिन देखाइनेछ। अमेरिका महिलाको कथा ‘ला कुम्बरे’ , दक्षिण अफ्रिकन कथा ‘जि–फेस दि डकुमेन्ट्री अबाउट नथिङ’, चीनको ‘दि फुलिस मेन, सुडानको ‘याल्ला खारतुम, म्यानमारको नन फोसिल्स, श्रीलंकाको भिक्षुणी, सिंगापुरको पिपल अफ दि फरेस्ट स् अरेन्ज रिम्बा, जोर्डनको सिक्स इअर ओल्ड फियर्स र भारतको बिलोङ्गिङ टु अनटचेबल गडसमेत फेस्टिबलमा प्रदर्शन हुनेछन्।
बुधवारबाट शुरु भएको फेस्टिबलमा २४ वटा थप अन्य फिक्सनबीच प्रतिस्पर्धासमेत हुने फेस्टिबल निर्देशक पाण्डव खत्रीले जानकारी दिए। फेस्टिबल मानवअधिकार चलचित्र केन्द्र नेपालले आयोजना गरेको हो।