नेपालले स्कटल्यान्डविरुद्ध प्रस्तुत गर्याे १५० रनकाे सामान्य लक्ष्य
काठमाडौं । जिम्बाबेमा भइरहेको विश्वकप क्रिकेट छनोट खेलअन्तरगत खेलमा नेपालले १५० रनकाे लक्ष्य स्कटल्यान्डलार्इ दिएकाे छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७.४ ओभरमा १ सय ४९ रनमा अलआउट भयो। नेपालका लागि कप्तान पारस खड्काले बाहेक अरुले ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
आफ्नो वरिपरी लगातार विकेट ढलिरहँदा पारसले भने साहसिक प्रत्याक्रमण गरेका थिए । उनले ७५ बलमा १० चौकाका साथ ६३ रन बनाए । पारस बाहेक सोमपाल कामी र रोहित कुमार पौडेलले मात्र दोहोरो अंकमा रन बटुल्न सके ।
पारसलाई राम्रो साथ दिइरहेका सोमपाल भने १८ रनमा दुर्भाग्यपूर्णरुपमा रुपमा रन आउट भएपछि खेलमा पुनरागमन गर्ने नेपालको प्रयास विफल भएको थियो ।
नेपालले दोस्रो ओभरदेखि नै विकेट गुमाउन थालेको थियो । खराब र्फममा रहेका उपकप्तान ज्ञानेन्द्र मल्ल केवल एक रन बनाएर दोस्रो ओभरको पहिलो बलमा सरिफद्वारा बोल्ड भए । उनलाई पछ्याउँदै अर्का ओपनर दिलिप नाथले पनि ह्वीटिङ्घमको बलमा एलबीडब्यू आउट भए ।
मध्यक्रमका भरपर्दा ब्याट्सम्यानहरु दिपेन्द्र सिंह ऐरी र शरद भेष्वाक पनि असफल भए । दिपेन्द्रले १ रन बनाए भने शरद शून्यमा पेभिलियन फर्किए । शरद आउट हुँदा नेपाल केवल १४ रनमा चार विकेटको अवस्थामा थियो ।
त्यसपछि आएका आरिफ सेखले पनि अघिल्लो म्याचको प्रदर्शन दोहोर्याउन सकेनन् । जिम्बाबेविरुद्धको अघिल्लो म्याचमा अर्द्धसतक बनाएका उनी आज २ रनमै आउट भए ।
सातौं विकेटका रुपमा आएका सोमपाल कामीले पारसलाई केही समय राम्रो साथ दिए । तर उनी रनआउट भएपछि नेपाललाई ठूलो धक्का लाग्यो । त्योभन्दा पनि ठूलो धक्का त्यतिबेला लाग्यो जब आक्रामक अर्द्धसतक बनाएर खेलिरहेका पारसले आफ्नो विकेट गुमाए । पारस आउट हुँदा नेपाल १ सय रनमा ७ विकेटको अवस्थामा रह्यो ।
पारस आउट भएपछि नेपालको रन गतिमा ब्रेक लागेको थियो । रोहित पौडेल १५ रन बनाए भने पुछारका ब्याट्सम्यानहरुले खासै रन बटुल्न सकेनन् ।
स्कटल्यान्डका लागि प्रारम्भिक फास्ट बलर ह्वीटिङ्घमले ३ विकेट लिए । यसैगरी सरिफले २ विकेट लिए ।
यसअघिको म्याचमा स्कटल्यान्डले हङकङलाई ९१ रनमा अलआउट गरेको थियो भने ६ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो ।
प्रतियोगितामा नेपालले दोस्रो खेल खेलिरहेको हो। यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो। स्कटल्यान्डका लागि भने यो तेस्रो खेल हो।