हारे पनि म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
गएराति भएको च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटी बसेलसँग पराजित भए पनि समग्रमा ४–३ गोलले अगाडि रहँदै अन्तिम ८ मा पुग्न सफल भयाे ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो लेगमा बनाएको चार गोलको अग्रता नै उसलाई क्वार्टरफाइनलमा पुर्याउन महत्वपूर्ण बन्यो ।
गएराति भएको दोस्रो लेगमा भने सिटी बसेलसँग दुई एकले पराजित भयो । सिटीले घरेलु मैदानमा २०१६ पछि पहिलो पटक हार ब्यहोर्न बाध्य भयो । अधिकांश खेलाडीलाई बेन्चमा राखेको सिटीले एक गोलको अग्रता जोगाउन सकेन ।
खेलको आठौं मिनेटमा नै गाब्रियल जिससको गोलमार्फत सिटीले खेलमा अग्रता बनाएको थियो । तर १७ औ मिनेटमा मोहम्मेद लियुनुसीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि ७१ औ मिनेटमा मिचेल लाङले पाहुना टिम बसेलका लागि दोस्रो गोल गर्दै टिमलाई जित दिलाए पनि क्वाटरफाइनलसम्मकाे यात्राका लागि साे गाेल पर्याप्त बन्न सकेन ।
सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको दोस्रो पटक हो । यसअघि सिटी अघिल्लो सिजन पहिलो पटक नकआउट चरणमा पुगेको थियो ।
सिटीले च्याम्पियन्स लिगको दोस्रो लेगमा अहिलेसम्म जित निकाल्न सकेको थिएन । जुन गएराति पनि जारी रह्यो । उसले खेलको पाँच वटा खेलमा चारमा हार र एक खेल बराबरी खेलेको छ ।