नेपाल अाज स्कटल्यान्डविरुद्ध खेल्दै, इतिहास रच्ने अवसर
काठमाडौं । जिम्बाबेमा जारी आर्इसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्ड विरुद्ध खेल्दै छ ।
आइतबार भएको समूहको पहिलो खेलमा नेपालले जिम्बाबेसँग ११६ रनको पराजय ब्यहोरेको थियो । समूह चरणको शीर्ष तीनभित्र रहेर ‘सुपर सिक्स’ चरणमा पुग्नका लागि नेपालले स्कल्याण्डलाई हराउनुपर्ने चुनौती छ । स्कटल्याण्डलाई हराउँदै नेपाल पहिलो जिता दर्ता गर्ने तयारीमा छ ।
नेपाल र स्कटल्याण्डबीचको खेल जिम्बाबेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लबको मैदानमा हुनेछ । यसै मैदानमा नेपालले समूहको पहिलो खेल जिम्बाबेविरुद्ध खेलेको थियो । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
स्कटल्याण्ड विरुद्ध नेपालको रेकर्ड राम्रो छैन । यसअघि तीन एकदिवसीय क्रिकेट खेलेको नेपालले जित हासिल गर्न सकेको छैन । यस अर्थमा बिहीबारको खेल नेपालका लागि प्रतियोगितामा पहिलो विजयका साथै स्कटल्याण्डविरुद्ध बदला लिने अवसर पनि हुनेछ ।
नेपालले ४ वर्षअघि न्यूजिल्याण्डमा भएको एकदिवशीय विश्वकप छनोटमा स्कटल्याण्डसँग पराजय ब्यहोरेको थियो ।
नियमित कप्तान पारस खड्का चोटग्रस्त भएपछि ज्ञानेन्द्र मल्लको कप्तानीमा उत्रिएको नेपालले स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा ४६.१ ओभरमा १५९ रनमा समेटिएको थियो । त्यतिबेला टिममा रहेका ४ खेलाडी अहिले पनि नेपालको टोलीमा छन् ।