समाज

महायज्ञबाट १ कराेड रूपैयाँभन्दा बढी रकम संकलन

महायज्ञबाट १ कराेड रूपैयाँभन्दा बढी रकम संकलन

ताप्लेजुङ । ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा रु एक करोडभन्दा बढी आर्थिक संकलन भएको छ । 



स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट कुल रु एक करोड ८५ लाख ३ सय २४ संकलन भएको आर्थिक प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ ।

 

सोमध्ये रु ७७ लाख १५ हजार १ सय १६ रूपैयाँ बैंकमा जम्मा भइसकेको र रु २३ लाख ६१ हजार ३ सय ६८ दानवीर तथा दाताले नाम लेखाएर दिन बाँकी रहेको क्याम्पसका लेखा अधिकृत मातृकाप्रसाद नेपालले जानकारी दिए । यता महायज्ञ सञ्चालन गर्दा रु २२ लाख ४५ हजार २ सय ६८ खर्च भएको बताइएको छ । महायज्ञमा एक हजार सात सयभन्दा बढी दानवीरले आर्थिक रकम दान गरेका थिए ।

 

यसैबीच, क्याम्पस प्रमुख मोहनकुमार राईले स्नातकोत्तर सञ्चालनका लागि तत्काल सम्भाव्यता अध्ययन गर्ने तयारी गरिएको जानकारी दिए । सम्भाव्यता अध्ययनपछि सोहीअनुसार क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका लागि प्रक्रिया अघि बढाइने उनले बताए ।  

यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङ्ले पनि सबैको साथ र सहयोगबाटै स्नातकोत्तर तहको पढाइ सञ्चालन गरिने बताए । तुम्याहाङले स्नातकोत्तर सञ्चालन गर्न क्याम्पसको मात्र पहलले सम्भव नहुने बताउँदै स्थानीय राजनीतिक दल, सरोकारवाला सबै पक्षको सहयोग आवश्यक पर्ने बताए । 

स्थापना भएको २७ वर्षपछि स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले गत माघ २४ देखि फागुन २ गतेसम्म महायज्ञ लगाइएको थियो । 

क्याम्पसका अनुसार संकलित रकम भवन निर्माण, ई–लाइब्रेरी स्थापना, विद्युतीय उपकरणको प्रयोग आदिमा खर्च गरिनेछ । विसं २०४७ मा स्थापना भएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तहसम्मको पठनपाठन हुँदै आएको छ । 

विशेष