समाज

'महिला मात्र हाेइन, पुरूष हिंसा पनि डरलाग्दाे'

'महिला मात्र हाेइन, पुरूष हिंसा पनि डरलाग्दाे'

भक्तपुर । महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्दै गएको आयोजित कार्यक्रममा सरोकारवालाले बताएका छन् ।

 

१०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला समन्वय समिति भक्तपुर, महिला विकास कार्यालय, भक्तपुर र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आयोजना गरेको लैंगिक तथा समावेशीकरणसम्बन्धी जिल्लास्तरीय अन्तक्र्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । 



कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला र पुरुषबीचको विभेदलाई जरैदेखि उखेल्न नसकिएको बताउँदै यसको अन्त्य गर्न अझै समय लाग्ने बताए । 



पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्ध आवाज उठाइरहँदा महिलाले महिलामाथि गर्ने हिंसा र महिलाले पुरुषमाथि गर्ने हिंसा पनि विकराल बन्दै गएको भन्दै उनले सबै प्रकारका हिंसा अन्त्य गर्नु जरुरी रहेको बताए ।

 

त्यसअवसरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले महिला हिंसाको अन्त्य गर्नसके समाज विकास तीव्रगतिमा अघि बढ्ने चर्चा गर्दै महिलाबाटै हुने हिंसालाई रोक्नु पनि जरुरी रहेको औँल्याए ।

 

हिंसा न्यूनीकरणका लागि कानून बने पनि कार्यान्वयनमा जटिलता आउँदा समस्या आएको बताउँदै उनले महिला आफैँ यसमा जागरुक हुनुपर्नेमा जोड दिए । 



कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाले महिला हिंसालाई कम गर्न उजुरी दिने प्रचलन बढ्नु पर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीमा गएका पुरुषले पठाएका रकमको दुरुपयोग गर्दै महिलाबाट पनि पुरुष हिंसा बढ्दै गएको बताए । 



कार्यक्रममा महिला विकास कार्यालयकी प्रमुख नीला घिमिरेले महिला हिंसाका बारेमा वार्षिक प्रतिवेदन पेस गरिन् ।

 

नेपाल पत्रकार महासंघ, भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गोष्ठी र सेमिनारले मात्रै महिला हिंसा न्यूनीकरण नहुनेमा जोड दिँदै महिलाका विषय तल्लोस्तरसम्म पुग्नुपर्नेमा जोड दिनुभयो ।

विशेष