समाज

फर्जी कागज बनाएर विद्यापीठकाे जमिन हडप्ने प्रयास

फर्जी कागज बनाएर विद्यापीठकाे जमिन हडप्ने प्रयास
जनक हजारी विद्यापीठकाे साढे दुर्इ बिघा जग्गा रत्नसागर मन्दिरका महन्थ वैकुन्ठदास वैष्णवले फर्जी कागज बनाएर हडप्न खाेजेकाे क्याम्पस प्रशासनले अाराेप लगाएकाे छ ।
 

विद्यापीठका प्राचार्य विजय चौधरीले बिहीबार पत्रकार सम्मेलन गरी २०५० देखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४/१५ को किता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा महन्थ दासले फर्जी कागज बनाएर बिक्री गर्न खोजेको आरोप लगाए । विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आंगीक क्याम्पस हो ।

 

साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्न दिएको थियो ।

 

संस्थानले विद्यापीठलाई उपल्बध गराएको सडक पूर्वको अढाई बिघालाई व्यवस्थापनले तारबार गर्नुका साथै सडक छेउको दक्षिणतर्फ भौतिक संरचना पनि निर्माण गरेको छ । उच्च अदालत जनकपुरले निर्माण रोक्न आदेश दिएपछि कलेज प्रशासन हच्किएको थियो ।

 

प्राचार्य चौधरीले भने, ‘उच्च अदालतको आदेशपछि बल्ल हामी वास्तविकताको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा रत्नसागरका महन्थले फर्जी कागजका आधारमा जग्गा आफ्नो नाममा गर्न लगाएका छन्, अनि नक्कली मोही पनि खडा गरेको थाहा पाएँ ।’ जनकपुर उपमहानगरपालिका ८ को दुवैतर्फ पक्की सडक रहेको यो जमिन धुरको १० लाख रुपैयाँमा बिक्री हुन्छ ।

विशेष