अधिकार खाेसेरै भए पनि लिन्छाैं—महिला कैदी
जिल्ला कारागार रूकुमपश्चिमका महिला कैदीहरूले महिला अधिकारका लागि महिलाहरू नै अग्रसर हुनुपर्ने बताएका छन् ।
पितृसतात्मक सोचका कारण अहिले पनि महिला हिंसाजस्ता विभिन्न घटनाहरुमा कमी नभएको भन्दै उनीहरुले अब महिला जागरुक हुनुपर्ने बताए । १०८ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आयोजित फलफुल वितरण कार्यक्रममा उनीहरुले आफ्नो अधिकार खोसेर भए पनि लिनुपर्ने बताए ।
कारागारभित्र आफुहरुले कुनै पनि प्रकारको दिवस मनाउन नपाएको भन्दै उनीहरुले आफुहरुलाई महिलामैत्री व्यवहारसमेत नभएको गुनासो पोखे ।
महिलालाई पुरुष सरह अधिकारका लागि नयाँ सरकारले नीतिमै व्यवस्था र कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ छ । कारागारभित्र विभिन्न सीपमुलक तालिम दिनसमेत उनीहरुले माग गरे ।
नारी दिवसको अवसरमा जिल्ला कारागार रुकुम पश्चिमका कैदीहरुलाई फलफुल वितरण गरिएको थियो । नेपाल मानव धर्म सेवा केन्द्र शाखा रुकुमले जिल्ला कारागार रुकुममा रहेका कैदीहरुलाई फलफुल वितरण गरेको हो ।
केन्द्रका प्रमुख करुणा बाईजीको नेतृत्वमा कारागारमा रहेका सबै ८१ जना कैदीहरुलाई फलफुल वितरण गरिएको हो ।
कैदीहरुलाई आध्यात्मिक ज्ञान प्राप्त होस् र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न भन्दै फलफुल वितरण गरिएको मानव धर्म सेवा केन्द्र शाखा रुकुमकी प्रमुख टिका ओलीले बताइन् ।
फलफुल वितरण कार्यक्रममा करुणाबाईजी, लोकबहादुर अधिकारी, दीपक अधिकारी, भिमबहादुर नेपाली, रिता अधिकारी, टिका ओली, जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक ऋषि ढुंगाना, दीपकसंगम थापा लगायतको उपस्थिति थियो ।