चन्दा माग्दै हिँडेका विप्लव समूहका ४ जना समातिए

काठमाडौं । व्यवसायीबाट जबरजस्ती चन्दा असुली गर्दै हिँडेका विप्लव समूहका ४ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नविन केसी, प्रज्जवल शाही, सन्तोष ऐरी र रामकुमार डाँगी छन् ।
काठमाडौं प्रहरी परिसरले उनीहरुलाई न्यूरोड र दरबारमार्ग क्षेत्रका व्यापारीहरुसँग चन्दा उठाउँदै हिँडेको सूचनाको आधारमा पक्राउ गरेको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताए ।
व्यापारीकै सूचनाका आधारमा चन्दा मागिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ । उनीहरुले व्यवसायीसँग ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म मागेको थिए ।
उनीहरुलाई चन्दा ऐन अन्तरगत जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइ म्याद गरेर अनुसन्धान गरिने परिसरले जनाएको छ ।