समाज

५ लाख घुस माग्ने वन अधिकृतलाई कार्यकक्षमै थुन्दा डाँको छोडेर रोए

५ लाख घुस माग्ने वन अधिकृतलाई कार्यकक्षमै थुन्दा डाँको छोडेर रोए

रामेछाप । कार्यकक्षमै थुनिएपछि जिल्ला वन अधिकृत रामविचारी ठाकुर डाँको छोडेर रोएका छन् । सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस मागेपछि वन अधिकृत ठाकुरलाई कार्यकक्षमै थुनेका थिए ।

 


खयरको गोलिया काठ वाह्य जिल्लामा लैजाने अनुमति दिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएपछि सेवाग्राहीले ठाकुरलाई उनकै कार्यकक्षमा थुनिदिएका थिए ।

 


जिल्ला वन कार्यालयले व्यक्तिका कान्लाका काठहरु काट्नको लागि हिमाली कच्चा उद्योग हाँसखोसा इटहरीलाई २०६८ सालमा खयर जातको काठ काट्ने अनुमति दिएको थियो ।

 


काठ काट्ने अनुमति पाएपछि हिमाली कच्चा उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नम्बर १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवासलगायतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेको थियो ।

 


कटान गरिएको काठहरु मध्ये ४ सय ९० क्युफिट गोलिया काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिएपछि ती काठहरु २०६८ सालमा नै लगिएको थियो । पछि वन कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो ।

 


काठ लैजान नपाएपछि कम्पनीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिएको थियो । तर जिल्ला वन कार्यालयले अहिलेसम्म पनि काठ लैजाने अनुमति दिएको छैन ।

 


व्यवसायी गौतमले बाँकी रहेको काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि वन कार्यालयले काठ लैजान अनुमति दिन १० लाख रुपैयाँ वन अधिकृतले मागेका थिए । सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएर क्षेत्रीय वन कार्यालय हेटौंडामा कागजात मिलाउनुपर्ने भन्दै वन अधिकृत ठाकुरले व्यवसायी गौतमको सवारीसाधन १४ पटक हेटौंडा र रामेछाप ओहोरदोहोर गराएका थिए ।

 


पछि वन विभाग र अख्तियारको टोलीसमेत रामेछाप आउने र उनीहरुलाई पनि खानपानको व्यवस्थापन गर्नुपर्ने भन्दै उल्टै वन अधिकृतले १२ हजार मूल्यपर्ने रक्सीसमेत व्यवसायीलाई किन्न लगाएर होटलको १ लाख २५ हजार विल समेत तिर्न लगाएको सेवाग्राही रुपनारायण गौतमले जानकारी दिए ।

 


यसरी पटक–पटक काठ लैजान पूर्जी दिने भन्दै वन अधिकृत ठाकुरले १५ लाख रुपैयाँ खर्च लिएका थिए । रकम लिएर पनि अधिकृत ठाकुरले विभिन्न वाहाना बनाएर थप ५ लाख रुपैयाँ मागेपछि गौतमले जिल्ला वन कार्यालय रामेछापमा पुगेर वन अधिकृत ठाकुरलाई कार्यकक्षमा नै ढोका थुनेर बाहिरबाट ताल्चा लगाइदिएका हुन् ।

 


सेवाग्राहीले उनको कार्यकक्षमा ताल्चा लगाइदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका हुन् । अधिकृत रोएको आवाज कार्यकक्ष बाहिर नै सुनिएको थियो ।

घुस वन अधिकृत

विशेष