मुख्य समाचार

सर्वेन्द्र खनाल अाईजीपीमा बढुवा भएलगत्तै रमेश खरेल गरे यस्ताे घोषणा ?

सर्वेन्द्र खनाल अाईजीपीमा बढुवा भएलगत्तै रमेश खरेल गरे यस्ताे घोषणा ?

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन्। के भन्छन् रमेश खरेल,  पत्रकार सुजित महतले गरेको संक्षिप्त कुराकानीः

 

नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? 

 

आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु। २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ। बुधबारदेखि बिदा हुँदै छु। 

 

आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा पनि दिने प्रचलन आएको छ, यसले फौजमा कस्तो संस्कार बसाउला ? 

 

पद्धति बसाएर निर्णय गर्नुपर्छ। भागबन्डा नहुने भएमात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ। म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ।

 

प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ। त्यही सपना पूरा गर्न मैले जानजान गल्ती कहिल्यै गरिनँ। 

 

तर, त्यो अवसर पाइनँ। हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ। त्यसैले बिदा हुने निर्णय गरेको छु। 

 

सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपर्थ्यो, एकजनालाई दियो। तपाईंप्रति अन्याय के भयो ? 


म संगठनप्रति आभारी छु। आज जे छु त्यो नेपाल प्रहरीको कारण छु। निर्णय गर्ने जिम्मा सरकारको हो। सरकारप्रति गुनासो छैन। उसलाई ठीक लागेको निर्णय गर्‍यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु। 

 

तपाईं योग्य अफिसर हो तर सबैभन्दा अब्बल तपाईं नै हो भन्ने आधार के हो ? 

 

दाबेदार सबैले आफूलाई अब्बल ठान्छन्। मैले पनि ठानेँ, के बिराएँ रु प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।

 

सरकारले भर्खर निर्णय गरेको छ, त्यसैले तपाईंको तातो प्रतिक्रिया होला। बुधबार बिहानसम्म पुनर्विचार गर्नुहुन्छ होला नि  ?

 

यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।

 

राजनीतिमा ....?

मेराे स्वभाव राजनीति सुहाउँदाे छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ?  याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छ ।
 

रमेश खरेल सर्वेन्द्र खनाल

विशेष