खेल

रोमाको उत्कृष्ट पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोमाको उत्कृष्ट पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

रोम । इटालियन क्लब एएस रोमाले बार्सिलोनाबिरुद्ध सनसनी पूर्ण जीत निकाल्दै  च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको छ । हिजाे राती घरेलु मैदान ओलम्पिकोमा भएको खेलमा रोमाले बार्सिलोनालाई दोस्रो लेगमा ३–० को जीत निकाल्दै स्तब्ध बनाएको हो ।

 

 पहिलो लेगमा बार्सिलोना ४- १ को जित निकालेर बलियो स्थितिमा रहेको थियो तर दोस्रो लेगमा रोमासँग ३-०ले पराजित हुँदा बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा सकिएको छ । रोमाले खेलको छैंटौं मिनेटमा नै इडेन जेकोको गोलमार्फत अग्रता बनाएको थियो ।

 

५८ मिनेटमा पाएको पेनाल्टिमा रोमाका लागि डी रोसीले गोल गरे ।   खेलको अन्त्यतिर डिफेन्डर कोस्टास मानोलासले गोल गर्दै रोमालाई ३–० को जीत दिलाए । रोचक कुरा, डि रोस्सी र मानोलास दुवैले पहिलो लेगमा आत्मघाती गोल गरेका थिए । पहिलो लेगमा भिलेन बनेका उनीहरु दोस्रो लेगमा रोमाका लागि हिरो साबित भए । 


योसँगै च्याम्पियन्स लिगको इतिहासमा पहिलो लेगमा ३ गोल या सोभन्दा बढीले पछि परेको स्थिति उल्टाउने रोमा तेस्रो टोली बनेको छ । यसअघि डिर्पोटिभो ला कोरुनाले एसी मिलानविरुद्ध सन् २००४ मा र बार्सिलोनाले गत सिजन पेरिस सेन्ट जर्मेनविरुद्ध यो उपलब्धि हासिल गरेको थियो ।

 

पाँच पटकको विजेता बार्सिलोना ला लिगामा लगातार ३८ खेलमा अपराजित रहेको छ भने कोपा डेल रेको फाइनलमा पुगेको छ । तर, हारसँगै यो सिजन ट्रेबल जित्ने उसको सपना चकनाचुर बनेको छ । रोमालाई प्रतियोगिताको यो चरणसम्म पुग्न ३४ वर्ष लागेको छ ।

 


 

बार्सिलोना रोमा

विशेष