लिखु गाउँपालिकाका अध्यक्षमाथि यसरी भएकाे थियाे आक्रमण
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलमाथि आक्रमण भएको छ । मंगलबार राति १० बजे अज्ञात समूहले अध्यक्ष पौडेलमाथि सुतेकै ठाउँमा आक्रमण भएको हो ।
घाइते अध्यक्षको मंगलबार राती नै स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गराइएको लिखु गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले जानकारी दिइन् । गाउँपालिका कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अज्ञात समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि कुटपीट गरेको अध्यक्ष पौडेलले बताए ।
‘म निवासमै सुतिरहेको थिएँ, बाहिर निस्कनुस् अंकल जरुरी काम छ भनेपछि म कोही नागरिक दुःख पाएर आए भन्ने ठानेर बाहिर निस्केको थिएँ’ अध्यक्ष पौडेलले भने –‘ढोकाबाट बाहिर निस्कनासाथ ममाथि आक्रमण भयो ।’
पौडेललाई गाउँपालिकाको वडा नम्बर – ९ पोकलीबाट आएको बताउने ४ जनाको समूहले मुङ्ग्रोले हानेर घाइते बनाएका हुन् । स्वास्थ्य अवस्था सामान्य रहेकाले प्राथमिक उपचारपछि बिहीबार मात्रै थप उपचारका लागि काठमाडौं जाने उनले बताए ।
आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडामा ४ टाँका लगाइएको छ भने तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ । हातको कान्छी औंलाको नङ सहितको भाग फुटेको छ ।
घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । ‘हामीले स्थलगत अनुसन्धान थालेका छौं’ शर्माले भने, ‘अपराधी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउँछौं ।’
लिखु गाउँपालिका गोविन्द पौडेल