डिपिएलः फाइनलमा धनगढी र काठमाडौँ भिड्ने
धनगढी । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।
आजको खेलमा महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।
काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा ग-यो । काठमाडौँका लागि सुबोथ भाटीले १८ बलमा ५२ रन बनाए । उनले १८ बलमा पाँच छक्का र चार चौका प्रहार गरे । अमित श्रेष्ठले १९ बलमा पाँच चौकासहित २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा भूपेन्द्र थापाले २१ बलमा १५ रन बनाए ।
बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले दुई तथा भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एक-एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा महेन्द्रनगरले पाँच ओभरमा १० रन बनाउँदै ६ विकेट गुमाएको थियो । ती सबै विकेट सन्नी पटेल एक्लैले लिएका थिए ।
आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पु-याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए ।
बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुबोथ भाटी र पुष्प थापाले एक-एक विकेट लिए ।
डिपिएल काठमाडौं गोल्डेन्स टिम चौराह धनगढी