नेकपाका कार्यकर्ताले नवलपरासीकाे एक वडा कार्यालय लुटे
नवलपरासी । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले नवलपरासी हुप्सेकोट गाउँपालिका–३ को वडा कार्यालयका सामान लुटेर लगेका छन् । सहकारीको घर भाडामा लिएर सञ्चालन गरिएको वडा कार्यालयबाट बुधबार राति कम्यूटर, प्रिन्टर, लेमिनेशन मेसिन र महत्वपुर्ण कागजात लुटेर लगेका हुन् ।
वडा कार्यालय हातामा अवध स्वायत्त प्रदेश जिल्ला जनपरिषद् हुप्सेकोट गाउँपालिका जनपरिषद् नेपालका नाममा हस्तलिखित पर्चा भेटिएको छ । हस्तलिखित उक्त पर्चामा ‘दलाली संसदीय व्यवस्थाद्वारा संचालित स्थानीय सत्तालाई बिस्थापित गर्ने क्रममा जनकारबाही गरिएको छ,’ उल्लेख छ ।
राति २ बजेतिर ढोकाको ताला काटेर कार्यालय लुटपाट गरेको स्थानीयको भनाई छ । विप्लव समुहले यहाँका ८ स्थानीय तहका प्रमुखलाई राजिनामा गर्न पत्र पठाएको २४ घण्टा बित्न नपाउँदै कार्यालयमा लुटपाट गरेका हुन ।
हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले कार्यालयमा चोरी भएको जानकारी पछि निरिक्षणका लागि जाँदा विप्लव समुहको कागजात फेला परेकोले उनीहरुले नै घटना गराएको हुनसक्ने बताइन् । उनले कम्युटर लगायतका महत्वपुर्ण अभिलेख रहेका सामान लगेको जानकारी दिइन् ।
नवलपरासी विप्लव हुप्सेकोट गाउँपालिका