गर्भवतीलाई श्रीमान र सासूले घरनिकाला गरे
ललितपुर । रुपन्देहीको सैनामैना नगरपालिका ६ की साढे २ महिनाकी गर्भवती महिलालाई श्रीमान र सासूले घरनिकाला गरेका छन् । कलौनीकी सारदा भट्टराईलाई श्रीमान् र सासूले यातना दिएर ‘घरनिकाला’ गरेका हुन् । घरमा बस्न नसकेपछि गएको २ दिनयता सारदा आफन्त कहाँ बस्दै आएकी छिन् ।
१९ वर्षीया सारदाको गएको मंसिर २८ गते २६ वर्षका हिमाल भट्टराईसँग मागी विवाह भएको थियो । बिहे भएको तीन दिनदेखि नै यातना दिन थालेका सारदाले इलाका प्रहरी कार्यालय सालझण्डीमा दिएको उजुरीमा उल्लेख गरेकी थिईन् ।
पटक–पटक मिलापत्र
पटक पटकको यातना सहन नसेपछि प्रहरीमा उजुरी गरेकी उनलाई २ पटकसम्म प्रहरीमा मेलमिलाप गरेपछि पनि यातना दिन नछोडेर घरबाटै निकाला गरेका हुन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख इन्स्पेक्टर दिपेश बस्यालका अनुसार गर्भवती महिलाको सहारा नटुटोस् भनेर पटक पटक मिलापत्र गराएको हो । तर, प्रहरीमा मिलापत्र गरेपनि घरेलु हिंसा भने रोकिएको छैन ।
गएको फागुन १५ गते शारदाको ससुरा यमलाल भट्टराईले इप्रका सालझण्डीमा बुहारी हराएको भनी उजुरी गरेका थिए । त्यसको ३ दिनपछि आफन्तकोमा रहेको भनी प्रहरीलाई जानकारी गराए ।
इन्स्पेक्टर बस्याल भन्छन्, ‘फागुन २४ गते महिलाले निवेदन दिएपछि मात्रै उनी चरम हिंसामा रहेको हामीलाई जानकारी भयो ।’ महिला घरेलु हिंसामा परेको थाहा पाएपछि प्रहरीले पहिलो पटकमा ‘कुटपिट, गालीगलौज नगर्ने सर्तमा’ मिलापत्र गरायो ।
त्यसपछि पनि श्रीमानले कुट्न नछाडेको भन्दै चैत १७ गते शारदाले फेरि निवेदन दिईन् । फेरि दुबैपक्षलाई राखेर कुटपिट नगर्ने भनी प्रहरीमा मिलापत्र भयो । चैत १८ गते प्रहरीले दुबै पक्षबीच दोस्रोपटक मिलापत्र गरायो । अझै हिंसा नरोकिएपछि चैत २३ गते तेस्रोपटक सारदाले उजुरी गरेको इन्स्पेक्टर बस्यालले बताए ।
‘मुद्धा चलाउँदा साढे २ महिनाकी गर्भवती सारदालाई झनै गाह्रो हुन्छ भनेर वडामा छलफल गर्यौं’ इन्स्पेक्टर बस्यालले भने – ‘विवाह दर्ता र नागरिकता बनाईदिने गरी आज नगरपालिकामा मेयर सहित छलफल हुँदैछ ।’
प्रहरीका अनुसार केटाको हुलिया हेर्दा दुव्र्यसनी जस्तो देखिन्छ । सारदाले दिएको उजुरीमा पनि मादकपदार्थ सेवन गर्ने श्रीमानले कुट्ने र सासूले उस्काउने गरेको उल्लेख छ ।
श्रीमानबाट पटक–पटक कुटपिट हुने, मारिदिने धम्की दिने गरेपछि अहिले आफन्तको घरमा बस्दै आएकी छिन् । उनले प्रहरीमा आफ्नो र गर्भको बच्चाको सुरक्षा गरिदिन समेत उनले माग गरेकी छन् ।
गर्भवती ललितपुर घरनिकाला सैनामैना नगरपालिका