समाज प्रदेश ७

वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

वडा अध्यक्षलाई ज्यान मार्ने धम्की

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर – ८ का वडा अध्यक्ष बहादुरसिंह महरालाई ज्यान मार्ने धम्की आएको छ । महरालाई अपरिचित व्यक्तिले फोनमार्फत ज्यान मार्ने धम्की दिएको हो । 

 

९८०६४५९१६७ नम्बरबाट फोन गरेर बारम्बार अपशब्द प्रयोग गर्दै गाली गर्ने गरेको वडाध्यक्ष महराले जानकारी दिए । मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म चारपटक फोन गरेर धम्की दिएको महराले बताए । फोनमा ज्यान मार्ने धम्की आउन थालेपछि सुरक्षाका लागि महराले ईलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिएका छन् । 

 

तीनजना चोरी शिकारीमा संलग्न व्यक्तिहरुलाई दुई नाल भरुवा बन्दुक र बन्दोबस्तीका सामानसहित दुई दिन अघि नियन्त्रणमा लिई वन कार्यालयलाई बुझाइएपछि धम्की आउन सुरु भएको महराले बताए । माओवादी केन्द्रबाट वडाध्यक्षमा जितेका महरा सामुदायिक वनका अध्यक्ष पनि हुन् । 

 

वन संरक्षणमा उत्कृष्ट काम गरेको भन्दै जिल्ला वन कार्यालयले महरालाई जिल्लाको उत्कृष्ट पुरस्कार पनि दिएको छ । उनी वन संरक्षणमा कडाइका साथ लागेका थिए। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक रवीन्द्र धनुषेले धम्की दिने व्यक्तिको खोजी भइरहेको बताए ।

शुक्लाफाँटा ज्यान मार्ने धम्की बहादुरसिंह महरा

विशेष