समाज

दसैँअघि मेलम्चीको पानी अाउन भनेजस्ताे सजिलाे छैन, अब केके काम बाँकी छ?

दसैँअघि मेलम्चीको पानी अाउन भनेजस्ताे सजिलाे छैन, अब केके काम बाँकी छ?

काठमाडौँ । आगामी दशैँअघि नै काठमाडौंमा मेलम्ची खानेपानी आउने कुराले काठमाडौंबासीलाई खुसी थपेको छ। काठमाडौँ बासीका लागि २०७५ साल लामो समयदेखि झेल्दै आएको पानीको समस्याबाट मुक्त हुने वर्ष समेत बन्दैछ। आयोजनाको मुख्य काम सुरुङ निर्माण सकिएपछि दुई दिन पहिले सुरुङको औपचारिक उद्घाटन भएपछि अबचाहिँ साँच्चै पानी आउला भन्ने आश जगाएको छ।

 

मेलम्चीबाट काठमाडौँसम्म पानी ल्याउने जिम्मा लिएको मेलम्ची खाने पानी आयोजनाले दशैँअघिनै काठमाडौँ पानी ल्याउने दाबी गरेको छ। तर अहिलेसम्मको प्रगती हेर्दा दशैँअघिनै पानी आउँछ भनेर विश्वास गर्ने आधार भने छैन।

 

आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भइसकेको छ। मेलम्चीको मुख्य काम सुरुङ निर्माणको काम सकिए पनि केहि महत्वपूर्ण काम भने बाँकी नै छ।

 

अब सुरुङको भुईँ ढलान, फिनिसिङ र दुईवटा टनेलको बीचमा पाइप जोड्न बाँकी छ। यो काम चार महिनामा सकिने आयोजनाले जनाएको छ। पाईप आयोजनास्थलमा पुर्‍याइ सकिएको र सबै काम एक साथ अगाडि बढाउने भएकाले दशैँ अघि नै पानी ल्याउने आयोजनाको दावी छ। १४ जुन २०१८ मा आयोजनाको काम सक्नु पर्ने सम्झौतामा उल्लेख छ। तर इटालियन ठेकदार कम्पनीले थप समय मागिसकेको छ।

 

यता काठमाडौंमा पनि पाइप लाइन बिस्तारको काम धमाधम भैरहेको छ। पाइप लाइन बिस्तार, ट्याङ्क निर्माण र धारा वितरणको काम ९० प्रतिशत सकिएको आयोजनाको दावी छ। मेलम्चीबाट आएको पानी वितरणका लागि कहिँ नयाँ लाइन बिस्तार गरिएको छ भने कतिपय ठाउँमा पुरानै पाइप लाइनबाट वितरण गरिने योजना छ।

 

मेलम्चीबाट थप दुई वटा आयोजना आएपछि भने सबै ठाउँमा नयाँ लाइन विस्तार गर्ने योजना छ। अहिलेको जनसङ्ख्या अनुसार काठमाडौंमा दैनिक ४० करोड लिटर पानीको आवश्यकता पर्छ।

 

यो प्रतिव्यक्ति दैनिक सय लिटरका दरले हिसाब गर्दा हो। काठमाडौँको जनसङ्ख्या ३२ लाख छ भने बाहिरबाट आएर बस्नेको सङ्ख्या करिब १० लाख रहेको अनुमान छ। तर अहिले दैनिक वर्षामा १४ करोड लिटर र सुक्खा याममा ८ करोड लिटर पानी काठमाडौँमा आउँछ।

 

मेलम्ची खाने पानीको पहिलो आयोजना आउँदैमा काठमाडौंको सबै माग पनि सम्बोधन नहुने आयोजनाका उपप्रमुख भोजबिक्रम थापाले बताए। याङ्ग्री र लार्केको थप ३४ करोड लिटर पानी आएपछि भने काठमाडौँलाई पर्याप्त पानी पुग्छ।

 

काठमाडौँबासीले पानी पाउने दिनगन्ती सुरु गर्दा स्थानीयले भने प्राकृतिक श्रोतको बाँडफाँडको हिस्सा खोज्न थालेका छन्। यसले पनि काठमाडौँ समयमा पानी ल्याउने योजनामा बाधा पुर्‍याउन सक्ने देखिन्छ। समयमै माग सम्बोधन नभए काम अबरोध गर्ने चेतावनी स्थानीयले दिइसकेका छन्।

 

यसअघि आयोजना प्रभावित साविकका ३५ गाविसका स्थानीयलाई क्षतिपूर्तिसँगै भौतीक पूर्वाधार र आयआर्जनका कार्यक्रम सञ्चालन गरिएको छ। स्थानीयस्तरमा ६ वटा सरोकार समिति निर्माण गरेरै यस्ता कार्यक्रम भइरहेका छन्।

 

पछिल्लो समय स्थानीयले राखेको माग सम्बोधन गर्न खानेपानी मन्त्रालयले प्रतिवद्धता भने जनाएको छ। मन्त्रालयले पनि समयमै प्रतिवद्धता पूरा गरे र आयोजनाले तदरुकताका साथ काम गरेमात्रै काठमाडौँबासीको आशा पुरा हुन्छ।

 

तोकिएको समयमा काम सकिएमा अबको चार महिनामा १७ करोड लिटर पानी काठमाडौँको सुन्दरी जलमा खस्नेछ। यो आयोजना सकिएपछि अरु यतिकै थप दुई वटा खानेपानी आयोजनाको काम पनि यहि वर्ष सुरुवात हुँदैछ। २०५५ सालबाटै आयोजना सुरु भएपनि भौतिक रुपमा काम भने २०६५ सालबाट मात्रै सुरु भएको थियो।

 

आयोजनाको मुहान मुहान समुद्र सतहदेखि १ हजार ४ सय २४ मिटर उचाईमा रहेको छ। रिबर्मा खोलामा निर्माण हुने ट्याङ्क १ हजार ४ सय १४ मिटर उचाईमा पर्छ भने पानी झर्ने स्थान सुन्दरीजल १ हजार ४ सय ६ मिटर उचाईमा रहेको छ।

 

आयोजनाको हेडवक्र्स तथा सुरुङ्ग निर्माण कार्यको ठेक्का सम्झौता चाइनिज कम्पनी सिआरसीसीसँग २०६५ सालको फागुन ७ भएको थियो।

 

यस निर्माण ब्यवसायीले हेडवक्र्स तथा सुरुङ्ग निर्माण कार्य चार वर्ष ४ महिनामा सक्नु पर्ने भएपनि आयोजनाले तोकिएको मितिमा काम सकेन। सुरुङ निर्माणको औपचारीक शिलन्यास २०६६ सालको साउन १९ गते तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले गरेका थिए। आवश्यक तयारी पश्चात २०६७ असार ११ गते सुन्दरीजलमा ब्लास्ट गरी सुरुङ्ग निर्माण कार्यको शुरुवात गरिएको थियो।

 

तर सम्झौतामा उल्लेखित तालिका अनुसार सुरुङ्ग निर्माण कार्यमा प्रगति गर्न नसकेको, पटक पटक सुधारका लागि सूचना गर्दा समेत कार्यमा सुधार नभएको भन्दै २०६९ असोज ९ गते यो कम्पनीसँगको ठेक्का रद्ध गरिएको थियो। त्यसपछि इटायिलन कम्पनी सिएमसीले सुरुङ निर्माणको जिम्मा पाएको थियो । यो कम्पनीले सुरुङ निर्माण गरेको हो।

 

यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलस्थित महाँकाल फाँटमा २ सय ३८ रोपनी जग्गामा पानी प्रशोधन केन्द्र निर्माण भएको छ। पानी प्रशोधन केन्द्र भाग १ र भाग २ साढआड करोड लिटरका दुई वटा छन्।

 

याङग्री र लार्के खोलामा दैनिक १७/१७ करोड लिटर गरि ३४ करोड लिटर पानी थप गर्न डिजाइन परामर्शदाता छनोट गरि काम अगाडि बढाइएको छ। यहि आर्थिक वर्षभित्रमा डिजाइन तयार हुने र बजेट व्यवस्था भएमा आउँदो आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने आयोजना प्रमुखले बताए । यसका लागि एडिबिले सहयोग गर्न तयार रहेको बताइसकेको छ। यी आयोजना पूरा भएपछि काठमाडौँको खानेपानीको समस्या समाधान हुनेछ।

मेलम्ची खानेपानी खुसी काठमाडौंबासी

विशेष