झापाका रविन दर्जीदेखि काभ्रेकी प्रयुषा न्यौपाने यसरी बन्दैछन् भिडियो शिकार !
भाइरल बनाउने भन्दै बालबालिकाको गलत प्रयोग
काठमाडौं । झण्डै एक वर्षअघि गुल्मी आसपमासका एक बालकको भिडियोलाई भाइरल बनाइयो । बालक रक्सीले मातेर आफ्नी प्रेमिकाको खोजीमा थिए ।
सामान्य होटलमा भाँडा माझ्ने काम गर्ने ती बालक सडकमै आफ्नी प्रेमिकाको बियोगमा रुँदै उनलाई खोजिदिन प्रहरीलाई आग्रह गर्दैथिए । ती बालकको गुनासो सुनेर भेला हुनेहरु सबै हाँसे । र अनेक जिज्ञासा सोध्दै थिए ।
खासमा बालकलाई अनेक जिज्ञासा सोध्दै त्यसको मज्जा लिइरहेका थिए उनीहरु । रुँदैगरेका ती बालक र हाँस्दै रमाइलो मानिरहेका थुप्रै युवाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइयो ।
लाखौं मानिसले उक्त भिडियो अवलोकन गरेपछि अरु थुप्रै बालबालिकाका रंगिबिरंगी भिडियो बनाएर भाइरल बनाउने क्रम ब्यापक बन्यो । खासगरी गायन, नाच, व्यंग्य लगायत विभिन्न क्षमता भएका बालबालिकालाई गीत गाउन लगाएर, नाच्न लगाएर भिडियो बनाइ यूट्यूवमा भाइरल बनाउने लहड चल्यो ।
झापा बेलडाँगी–२ का ८ वर्षीय रवीन दर्जी राम्रो गाउन सक्छन् । यूट्यूवहरु उनलाई गीत गाउन लगाउँदैभिडियो भाइरल बनाउने लहडमा छन् ।
‘अर्को प्रेम परियार, जसले राष्ट्रिय कलाकारलाई पछि पारे’जस्ता उपमा दिएर उनको भिडियो रातारात भाइरल बनाइएको छ ।
यस्तै बाग्लुङस्थित कक्षा १ मा अध्ययनरत बालिका दुर्गा केसीको भिडियो भाइरल हुँदैछ । जहाँ दुर्गा रमाइलो पारामा नाच्छिन् । उनको नाच्ने शैली र गायकीलाई ब्यंग्यको मसला बनाइँदैछ ।
काभ्रेकी ९ वर्षिया बालिका प्रयुषा न्यौपाने पनि यस्तै भिडियो शिकार बनेकी छन् । उनलाई गीत गाउन लगाउँदै भिडियोमा प्रयोग गरिँदैआएको छ ।
यसबाहेक अरु थुप्रै बालबालिकालाई भिडियोमा ब्यापारको हतियार बनाइँदैछ । खेल्ने, सिक्ने, रमाउने उमेरका बालबालिकालाई ‘सेलिब्रिटी’को भारी बोकाएर जे गरिँदैछ यसले पक्कै नराम्रो परिणाम ल्याउनेछ ।
बालबालिकाको प्रयोग नाजायज
मिडिया आचरण के छ भने, बालबालिकाको तस्वीर सकेसम्म प्रयोग नगर्नु । प्रयोग गर्नैपरे उसको अनुहार ब्लर गरेर तस्वीर प्रयोग गर्नु । व्यवसायीक संचारमाध्यम तथा ग्लोबल मिडिया बालबालिकाको तस्वीर प्रयोग गर्नुपर्ने भयो भने ब्लर गर्ने चलन छ ।
बालबालिकालाई तस्वीर वा भिडियोमा प्रयोग गर्नु जायज मानिँदैन । तर नेपालमा पछिल्लो समय यूट्यूव भिडियोमा ‘बाल कलाकार’ वा ‘अब्बल क्षमतावान’का नाममा बालबालिकालाई प्रयोग गर्ने चलनले ‘मिडिया इथिक्स’को खिल्ली उडाइएको छ । साथै बाल अधिकारको हनन् भएको अनुभुत हुन्छ ।
यसरी बालबालिकालाई आफूखुसी भिडियोमा कैद गर्ने र भाइरल बनाउने प्रचलन मिडिया मात्रै नभएर सांस्कृतिक हिसावले पछौटेपन हो । यूट्यूवबाट चर्चा कमाउने र पैसा कमाउने धन्धामा बालबालिकाको प्रयोग गर्दै कहाँसम्म जाने हो ?