समाज

गाउँपालिकाको कार्यालयमा कुकर बम बिस्फोट

गाउँपालिकाको कार्यालयमा कुकर बम बिस्फोट

दमक । इलामको दक्षिणी क्षेत्रस्थित चुलाचुली गाउँपालिकाको भवनमा कुकर बम बिस्फोट भएको छ । बिस्फोटबाट भवनमा क्षति पुगेको छ । शनिबार राति ७ बजेर ५५ मिनेटमा बिस्फोट भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालले जानकारी दिइन् । 

 

विष्फोटबाट गाउँपालिकाको नयाँ थपेको भवनको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको दाहालले बताइन् । विष्फोटबाट दुईतले भवनको छत भ्वाङ परेको छ भने छानोसमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए । 

 

बमले सभाहलको ६ वटा झ्यालका सिसा, जिप्सन, डोम लाइट वायरिङमा क्षति पुगेको छ । घटनास्थलमा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द्र राईले बताए । 

 

घटनापछि इलामबाट प्रहरी नायव उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा प्रहरी टोलीले बिस्फोटस्थलको निरिक्षण गरेको प्रहरी उपरीक्षक विपिनकुमार कर्मचार्यले जानकारी दिए । 

कुकर बम चुलाचुली गाउँपालिका बिस्फोट

विशेष