अपराध सुरक्षा मुख्य समाचार

मनोजको धन्दा– क्यानडा लैजान्छु भन्दै करोडौं झ्वाम् !

मनोजको धन्दा– क्यानडा लैजान्छु भन्दै करोडौं झ्वाम् !

काठमाडौं । क्यानडा लैजाने भन्दै एक करोड भन्दा बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

भरतपुर महानगरपालिका वडा नम्बर १०, ढुंगानाचोक बस्ने मनोज खत्रीले क्यानाडा लैजाने भन्दै दुई जनासँग एक करोड तेह्र लाख रुपैयाँ ठगी गरेका थिए । 

 

भक्तपुर नगरपालिका, सूर्यविनायक वडा नम्बर ९ मा बस्ने सुनिता बिष्टबाट ४२ लाख  र ललितपुर महानगरपालिका वडा नम्बर १३ मा बस्ने एलिना बस्नेतबाट ७१ लाख लिएर खत्री फरार भएका थिए । 

 

पीडितहरुले प्रहरीलाई दिएको जाहेरीको आधारमा मनोज खत्रीलाई गत चैत ८ गते जिल्ला प्रहरी कार्यालय भरतपुरले पक्राउ गरेको थियो । त्यसलगत्तै  प्रहरीले अनुसन्धानका लागि खत्रीलाई वैदेशिक रोजगार विभाग पठाएको थियो । 

 

गैरकानूनी रुपमा क्यानडा पठाउने भन्दै विष्ट र बस्नेतसँग मोटो रकम लिएर सम्पर्कमा नआएपछि प्रहरी परीचालन गरेर खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

 

वैदेशिक रोजगार विभागकी अनुसन्धान अधिकृत ईन्दु घिमिरेले दिएकोे जानकारी अनुसार आरोपी मनोज खत्रीले विष्ट बस्नेतबाट १ करोड भन्दा धेरै रकम लिएको प्रारम्भिक वयानमा स्वीकार गरेका छन् ।

 

क्यानडा पठाउँछु भनेर रकम लिइएको भएपनि खत्रीले अन्य कुनै कारोबारका लागि रकम लिएर फिर्ता नगरेको हुनसक्ने अनुमान अनुसन्धान अधिकृत घिमिरेको छ । 

 

थप अनुसन्धानको लागि मनोज खत्रीलाई थुनामा राखिएको छ । आवश्यक कागजपत्र तयार गरिएपछि उनलाई अदालतमा पेश गर्ने प्रहरी तयारी छ । 

 

ठगीको आरोप प्रमाणित भएमा ठगी गर्ने व्यक्तिलाई बिगोसहित तीनदेखि सात वर्षसम्मको कैद या तीनदेखि पाँच लाखसम्मको जरिवाना या दुबै हुन सक्ने अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिइन् । 

 

ठगीको रकम ठूलो भएको र त्यसमा एकजनाको मात्र हात हुन सक्ने सम्भावना कम देखिएको छ । त्यसमा को÷को संलग्न छन् भन्ने कुरा अनुसन्धान पुरा भएपछि मात्र बताउन सकिने घिमिरेले जानकारी दिइन् ।

प्रहरी पक्राउ करोडौं झ्वाम्

विशेष