समाज

निषेधाज्ञाको निर्णय फिर्ता नलिए नेविसंघले आन्दोलन गर्ने

निषेधाज्ञाको निर्णय फिर्ता नलिए नेविसंघले आन्दोलन गर्ने

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका सात स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाउने सरकारको पछिल्लो निर्णय फिर्ता लिनुपर्ने माग गरेको छ । 


बैशाख १६ गते बाट लागु हुन गइरहेको उक्त निषेधाज्ञा फिर्ता लिन माग गर्दै नेविसंघले मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा निर्णय फिर्ता नभए बैशाख १६ गतेबाट आन्दोलनमा उत्रिने पनि चेतावनी दिइएको छ । 


निश्चित स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने निर्णय फिर्ताका लागि दवाव दिन मंगलबार दिउँसो स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउन लागिएको नेविसंघका केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिएका छन् ।  


चैत ३० गते बसेको जिल्ला सुरक्षा समितको बैठकले काठमाडौंको खुलामञ्च, तीनकुने खुलाचौर, भुईंखेल चौर (भगवान पाउ), पेप्सीकोला खुला मैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याण परिषद् अगाडिको खुला मैदान र सिफल चौर गौशालामा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने निर्णय गरेको थियो ।


‘‘जस्तो सुकै निरङ्कुशता र अतिवादलाई रत्तिभर स्वीकार नगर्ने नेपाल विद्यार्थी संघ सरकारको यो जनविरोधी कदमको ठाडो विरोध गर्दछ र यस्ता गतिविधि बन्द गरी पछिल्लो ऐतिहासिक जनआन्दोलनको उपलब्धि अनुशासनको लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सरकारलाई चेतावनी दिन चाहन्छ’’ नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ । 


बैसाख २ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बैसाख २ गते सार्वजनिक सूचना जारी उक्त निर्णय वैशाख १६ गतेदेखि लागु हुने बताएका थिए । 

 

यस अघि गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासन सुधार कार्ययोजनामा विरोध प्रदर्शनका लागि निश्चित स्थल तोक्ने र तोकिएको स्थानमा मात्रै प्रदर्शन गर्न पाउने उल्लेख गरेका थिए ।

 

गृह प्रशासन सुधार कार्ययोजना कार्यान्वयनका क्रममा काठमाडौं जिल्ला प्रशासन कार्यालयले निश्चित स्थानमा मात्रै सार्वजनिक कार्यक्रम तथा प्रदर्शन गर्न पाइने निर्णय गरेको बताइएको छ । 
 

नेपाल विद्यार्थी संघ निषेधाज्ञा

विशेष