देश

यस्ता छन् चीनले दिएका विमान, तत्काल तराई क्षेत्रमा उडाउने तयारी

यस्ता छन् चीनले दिएका विमान, तत्काल तराई क्षेत्रमा उडाउने तयारी

काठमाडौं । चीन सरकारको सहुलियत ऋणमा उपलब्ध गराएको दुई वटा विमान नेपाल वायु सेवा निगमलाई  हस्तान्तरण गरिएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू-होङले विमानको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


कलसाईन 9N–AKU / 9N-AKV विमान करिब डेढ महिनाअघि काठमाडौँ ल्याइएको थियो । यो विमानको यात्रु क्षमता १७ सिट छ । यी २ सहित ६ वटा चिनियाँ विमान नेपाल आइसकेका छन् । ६ विमानमध्ये दुई विमान वाई १२ र एमए ६० (५६ सिट क्षमताका) विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी ४ विमान सहुलियत ऋणमा खरिद गरिएको निगमले जनाएको छ । 


विसं २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीचको प्रत्यक्ष सम्झौता बमोजिम कूल ६ वटा जहाज नेपाल वायुसेवा निगमले ल्याउने र त्यसमा दुईवटा अनुदान र ४ वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । चीन सरकारले बाँकी २ वटा विमान पनि हस्तान्तरण गरेपछि नेपालको आन्तरिक उडानले फड्को मार्ने आशा पलाएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । उनले विमानको मर्मत, संहारका विषयमा पनि चिनियाँ कम्पनीसँग कुरा भइरहेको पनि जानकारी दिए । निगमले यी २ वटा विमान तराई क्षेत्रमा सञ्चालन गर्ने योजना पनि बनाएको छ ।


निगमका पुराना तीनसहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । हाल निगमले देशका विभिन्न २० गन्तब्यमा आन्तरिक तथा अन्तराष्ट्रियतर्फ विभिन्न मुलुकका ८ वटा गन्तव्यमा नियमित उडान भर्दै आएको छ । निगममा विमान भित्रिए पनि विमानचालक अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् । 

विमान चीन सरकार सहुलियत ऋण

विशेष