नयाँ वर्षमा मादलको तालमा झुमे टोरोन्टोका नेपाली
बद्री तिमल्सिना
टोरोन्टो (क्यानडा) । नयाँ वर्ष २०७५ लाई क्यानडाको टोरोन्टोमा रहेका नेपालीहरुले मादलको ताल घन्काएर स्वागत गरेका छन् । टोरन्टोका युवाहरुले मादलको ताल घन्काएपछि नयाँ वर्ष सांगीतिक बन्यो ।
गैरआवासीय नेपाली संघ क्यानडा र नेप्लिज केनेडियन कमुनिटिज सर्भिस सेन्टरको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रतिकूल मौसमका वाबजुद पनि उल्लासका साथ सहभागीहरु मादलको तालमा झुमेका थिए ।
टोरन्टोको भिक्टोरिया पार्कस्थित स्थानीय मेसि स्क्येरको हलमा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेको सभापतित्व तथा नेप्लिज केनेडियन कमुनिटिज सर्भिस सेन्टरका नव निर्वाचित अध्यक्ष विदुर केसीको संयोजनमा भएको उक्त कार्यक्रममा क्यानडा सरकारको तर्फबाट प्रधानमन्त्री जस्टिन टुडो, ओन्टारियो प्रोभियन्सको तर्फबाट प्रिमियर विनि क्याथलिन, नेपाल सरकारका श्रममन्त्री गोकर्ण बिष्ट र क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोख्रेलले क्यानडामा बसोवास गर्नु हुने नेपाली समुदयालाई नयाँ वर्ष २०७५ को अवसरमा पठाएको शुभकामना मन्तव्यलाई गैरआवासीय नेपाली संघ क्यानडाका महासचिव चिरिन्जीवी घिमिरेले वाचन गरेका थिए ।
प्रवाशमा रहेर नेपाली कला र सस्कृतिको प्रबद्र्धनका लागि सक्रिय संस्था हिमालयन भाइबसको तर्फबाट मंगलधुन तथा गीत प्रस्तुतीका साथै नेपालीको मौलिक ताल बाजा मादल बजाउन मादल बिज्ञ तथा एनआरएनए कल्चरल कोअर्डिनेटर सानुराजा महर्जनसंँग तालिम लिइ रहेका मादलका प्रशिक्षार्थीहरुको बेजोड प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो ।
नेपाली कला तथा सस्कृतिको प्रबर्द्धन गर्ने हिमालयन भाइव्सको यस्तो प्रयासबाट प्रभावित भएर प्रवासी नेपाली मंचका अध्यक्ष रमेश थापा, कन्सर्न नेपालका संयोजक डा. तुलसी धरेल तथा एनसीसीयसका सल्लाहाकार गोपाल भण्डारीले हिमालयन भाइव्सको सहयोगार्थ संस्थाका संयोजक हरि लम्साललाई व्यक्तिगत रुपमा एक सय क्यानेडियन डलर प्रदान गरेका थिए ।
कार्यक्रमका उपस्थित सहभागीहरुलाई नयाँ वर्ष २०७५ को अवसरमा प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश थापा, कन्सर्न नेपालका संयोजक डा. तुलसी धरेल तथा एनसीसीयसका सल्लहाकार गोपाल भण्डारी, नेवा गुठीका अध्यक्ष उत्तम माकाजु ,बाग्लुङ्ग सेवा समाजका उपाध्यक्ष भावी न्यौपाने सिर्जनशिल समाजका सचिव विष्णुहरि भण्डारी एनआरएनएका पूर्वअमेरिकी क्षेत्रीय संयोजक नवराज गुरुङ र स्थानीय मेसि स्क्येरको नेपाली समुदायको तर्फबाट रचना पौडेलले शुभकामना मन्तब्य राखेकी थिइन् ।