विचार मुख्य समाचार

हाम्रा मान्छेले भोट हालेर एमाले पहिलो पार्टी बनेको हो   

हाम्रा मान्छेले भोट हालेर एमाले पहिलो पार्टी बनेको हो   

एकनाथ ढकाल, अध्यक्ष नेपाल परिवार दल     

काठमाडाैं । निर्वाचनमा थ्रेसहोल्ड सम्बन्धी व्यवस्थाका कारण अहिले साना दलका आवाज केही मधुरो भएको जस्तो भएको छ । तर साना दलहरुले विगतमा जसरी थोरै जनसंख्यालाई प्रतिनिधित्व गरेर पनि जनताका समस्याका बारेमा जसरी आवाज बुलन्द गरेका थिए, त्यो आवश्यकता अहिले पनि छ । आवाजविहीनहरुको आवाज हुने काम साना  दलहरुले गरेका थिए । 

 

 साना दलहरुले कसरी आफ्ना धारणा सरकारसम्म पुर्याउने, कसरी जनताका समस्या, जनताको आवाज बुलन्द गर्ने भन्ने विषयमा बहस र छलफल हुन जरुरी छ । साना दलहरुले पनि सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता देखिदै आएको छ । अर्कोतिर सहकार्य हुन सक्ने आधारहरु बलिया छन् ।

 

वैचारिक र सैद्धान्तिक धारणा मिलेपछि सहकार्य हुन नसक्ने केही  छैन । उदाहरणका लागि आर्थिक विकासमा जोड दिने नयाँ शक्ति, सुशासनमा जोड दिने विवेकशील साझा र यी दुवै धारणामा राजनीतिक मूल्य पनि हुनुपर्छ भन्ने परिवार दलका धेरै कुराहरु आपसमा मिल्छन् । यसकारण सहकार्यको सम्भावना जहिले पनि हुन्छ । 

 

गएको निर्वाचनमा परिवार दलले तीन बुँदे सहमति नै गरेर वाम गठबन्धनलाई सघाएको हो । धेरै स्थानमा वामगठबन्धनले २–३ सय मतको अन्तरले जितेका छन् । त्यसो हुनुमा परिवार दलकै मतले काम गरेको हो । हाम्रा मतदाताले गरेको मतदानकै कारण वाम गठबन्धनका धेरैले चुनाव जिते । 

 

    परिवार दल नभएको भए सामानुपातिकतर्फको मत पनि कांग्रेसको बढी हुने थियो । परिवार दलकै मतका कारण एमालेको मत सर्वाधिक देखिएको हो । 

 

वाम गठबन्धनलाई जिताउन म आफै पनि धेरै ठाउँमा पुगेको छु । एउटै मञ्चमा केपी ओली, माधव नेपाल, प्रचण्डसँगै दर्जनौं सभालाई सम्बोधन गरेको छु । परिवार दलले दिएको योगदान ठूलो छ, चुनावको प्रशंगमा । 

 

हामीले राष्ट्रियता, संविधान कार्यान्वयन, सुशासन आदि विषयका लागि एमालेसँग सहकार्य गरेका थियौं । हामीले जनताका लागि जे जति काम गर्न सकिन्छ, त्यो काम अहिलेको सरकारले गर्ला भन्ने आशा त्यागेका छैनौं ।

 

एमालेलाई सहयोग गरेबापत हामीले केही खोजेका छैनौं । हाम्रो अपेक्षा सुशासन, राजनीतिक मूल्य र आर्थिक विकास होस भन्ने हो । जनजीवीकाका विषयमा सरकार गम्भीर भएर काम गरोस भन्ने हो ।

 

यति भयो भने परिवार दल स्थापना हुनुको उद्देश्य पनि पूरा हुन्छ । हामी आफैले प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा देश विकासमा सहभागी हुन पायौं भने हामीलाई पुग्छ । 

 

 जहाँसम्म परिवार दल संसदमा किन छैन भन्ने प्रश्न छ । त्यो नेकपा एमालेले सोच्नु पर्ने विषय हो । एमालेले परिवार दललाई संसदमा प्रवेश गराउने वातावरण मिलाउनु पर्छ ।

 

त्यो उसको जिम्मेवारी पनि हो । प्रतिनिधिसभामा सम्भावना कम भए पनि राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन सकिन्छ । त्यो ठूलो कुरा होइन । 

 

 
अब सरकारले जनताले दिएको मतादेश अनुसार, जनचाहना अनुसार काम गर्नु पर्छ । सरकारको कामको मूल्यांकन गर्ने बेला भइसकेको छैन । तर मन्त्रीहरु सस्तो लोकप्रियताका लागि, पत्रिकामा खबर बन्नका लागि हाहा हुुहु गरिरहेको जस्तो देखिन्छ । परिणाममुखी काम गर्न म मन्त्रीहरुलाई आग्रह गर्दछु । ‘जुन जोगी आए पनि कानै चिरिएको’ भन्ने जनतामा छाप नपरोस भन्ने कामना पनि गर्छु । 

 


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतका अगाडि प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको बताउनु भएछ । प्रतिपक्षी भएपछि आलोचना नै गर्नुपर्छ भन्ने परम्परागत मान्यताबाट उहाँले बोल्नु भएको होला ।

 

तर मेरो विचारमा प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल छ । खोट लगाउनु पर्ने ठाउँ छै्रन । देउवा आफै प्रधानमन्त्री हुँदा भारतमा गएर नेपालमो निजी मामिला संविधान संशोधन गर्छु भनेर फर्किनु भएको थियो । आज उहाँ अरुलाई उहाँले लम्पसारवादी भन्नु भएछ । 

 

   जहाँसम्म सरकारको मूल्यांकनको कुरा छ । अहिले मूल्यांकन गरिहाल्नु हतारो हुनेछ । 
(अध्यक्ष ढकालसँग भएको कुराकानीमा आधारित) 
 

विशेष