समाज

यस्ता छन् पाकेटमारका केही कोड शब्दहरू, जसले तपार्इलार्इ पत्ता लगाउन सहज हुन्छ

यस्ता छन् पाकेटमारका केही कोड शब्दहरू, जसले तपार्इलार्इ पत्ता लगाउन सहज हुन्छ

बिहान १० देखि १२ बजेसम्म राजधानीका सार्वजनिक बसमा यात्रा गर्दै हुनुहुन्छ भने एकपटक वरिपरि राम्ररी हेर्नु होला। नत्र बसबाट ओर्लँदा तपाईंको खल्तीको पैसा अर्कैले लिइसकेको हुन पनि सक्छ।

 

प्रहरीकाअनुसार उपत्यकाका तीन सय बढी पाकेटमार सक्रिय हुने ‘प्राइम टाइम’ बिहान १० देखि १२ बजेसम्म हो।

 

आइतबार टेकु क्षेत्रमा पाकेट मार्ने एक समूहलाई प्रहरीले पक्रियो। पक्राउ पर्नेहरूले बिहान २ घन्टा आफूहरूले धेरै पाकेट मार्ने बयान दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

 

‘हालसम्म पक्राउ परेका पाकेटमारको बयान र उनीहरूको शैली हेर्दा उस्तै भेटियो,’ पोखरेलले भने।

 

बिहान १० बजे कार्यालय समयका कारण मानिसहरू हतारमा हुने भएकाले आफूहरूका लागि त्यो उपयुक्त समय हुने पाकेटमारले प्रहरीलाई बयान दिएका छन्।

 

उनीहरूले कसरी काम गर्छौं भन्ने पनि प्रहरी बयानमा खुलाएका छन्।

 

पाकेटमारका फरक-फरक समूह हुन्छन्, उनीहरूले एरिया बाँडेर आफ्नो भागमा परेको ठाउँमा चल्ने सार्वजानिक बसमा पाकेट मार्छन्।

 

कलङ्की-रत्नपार्क रूटमा चल्ने संयुक्त यातायात र सिटी यातायातमा टेकुदेखि रत्नपार्कसम्म पाकेटमार हुने प्रहरी अनुसन्धानबाट खुलेको छ।

 

पक्राउ परेकाले दिएको बयानअनुसार   पाकेटमारहरू बिहान ७ बजेदेखि योजना बनाउन थाल्छन्।

 

कुनै चिया पसलमा भेटेर उनीहरूले दिनको योजना बनाउँछन्। १० बजे निश्चित ठाउँ पुगेर कोचाकोच यात्रु भरिएको बसमा चढ्छन्।

 

बसमा पैसावाला मान्छे चढेको छ वा छैन याद गर्छन्।

 

पैसावाल मान्छे ठम्याइसकेपछि मास्टर (समूहका नाइके) लाई खबर गर्छन्। निसाना लगाएका व्यक्तिलाई ४ जनाले चेपुवामा पार्छन् र नाइकेले खल्तीबाट पैसा झिक्छ। केहीबेरमा गाडी रोक्न लगाएर सबै जना ओर्लन्छन्।

 

बसमा पैसावाल मान्छे छ भन्ने थाहा भएर उसको पछि लाग्दा उनीहरूले कोड भाषा प्रयोग गर्छन्।

 

समूहको कसैले ‘रामे’ शब्द उच्चारण गरे नाइकेले पाकेट मार्ने तयारी गर्छ। यदि त्यो बीचमा प्रहरी आयो भने, ‘मामा’ र ‘ठूला’ भन्ने शब्द प्रयोग हुन्छ। त्यो शब्द निस्कनासाथ नाइकेले गरिरहेको काम छोड्छ। उनीहरू बसबाट ओर्लने तयारी गर्छन्।  तर झरौं भन्दैनन्, कोड भाषामा ‘फाडिखा’ भन्छन्।

 

फाडिखाको अर्थ असफल भइयो अब भागौं भन्ने हो।

 

प्रहरीका अनुसार  चक्रपथमा चल्ने बसलाई मात्र लक्षित गरी बनेका १० भन्दा बढी पाकेटमारका समूह छन्।  जसमध्ये गोंगबुबाट महाराजगन्जसम्म एउटा समूह छ। उनीहरूले निश्चित बस स्टपसम्मलाई आधार मानेर क्षेत्र छुट्याउँछन्।

 

एक समूह अर्काको क्षेत्रका बसमा पाकेट मार्न जान पाउँदैनन्।

 

१२ वर्षअघि टेकु क्षेत्रमा पाकेटमारी गर्दै आएका ३५ वर्षीय राजु तामाङले अर्को समूहको मान्छे आफ्नो क्षेत्रमा आएर पाकेट मार्‍यो भन्दै हत्या गरेका थिए।

 

सो हत्यामा १२ वर्ष जेल बसेर छुटेका उनी अर्को समूह बनाएर अहिले फेरि पाकेटमारीमा सक्रिय छन्।

 

पाकेट मारेको आरोपमा पक्राउ परेकाविरूद्ध सार्वजनिक मुद्दा लाग्छ।

 

केही रकम धरौटी बुझाएर उनीहरू छुट्छन्।

 

‘फितलो कानुनका कारण उनीहरू सहजै छुट्छन्  फेरि सोही काममा लाग्छन्,’ एसएसपी पोखरेलले भने,‘त्यसैले यो क्रम रोक्न गाह्रो छ। यात्रुले नै कुनै व्यक्तिले शंकास्पद इसारा गर्दा वा नयाँ शब्द बोल्दा सचेत हुनुपर्छ।’


पाकेटमारका केही कोड शब्दहरू यस्ता छन्।

टिनुवा – पाकेटमार

खडी – लुटपाट

घोप्टे – खुकुरी

चिसो – छुरी/चक्कू

धुब्रदाई/ रामे – पैसावाला मानिस

कान – मोवाइल

दस्ती तोड/ दह – रूपैया निकाल

थान – रू १००० को नोट

गज – रू १०० को नोट

सेतो आधा – रू ५०० को नोट

मास्टर – पाकेटमारको नाइके

ढेक – पाकेटमार्दा छेकछाक गर्ने मानिस

ठूला – सादा पोशाकको प्रहरी

लाटा – युनिर्फमको प्रहरी

मानबेचे – प्रहरी भ्यान

डे – केरकारको प्रहरी

टिप – खुद्रा पैसा खसाली टिप्न भनि अरूको खल्तीबाट निकाल्ने

  • निलचरी – आर्मी / सशस्त्र प्रहरी /पुलिस
  • बिरालो – सेतो भ्यान

प्रहरी पाकेटमार बयान

विशेष