अर्थ शेयर मुख्य समाचार

पुँजी बजारमा उछाल, कारोबार रकम पनि अर्ब माथि लाग्दा यसरी दंग परे लगानीकर्ता

पुँजी बजारमा उछाल, कारोबार रकम पनि अर्ब माथि लाग्दा यसरी दंग परे लगानीकर्ता

काठमाडौं  । पुँजी बजारमा उछाल आएको छ । आइतबारदेखि मन्द गतिमा बढ्न थालेको बजार बुधबारसम्म आइपुग्दा व्यापक वृद्धि भइसकेको छ । मंगबारसम्म विशेष गरी बिमा कम्पनीहरु उचालिएका थिए ।

 

बिमाको पछिपछि माइक्रोफाइनान्स र होटेल समूह पनि लागेका थिए । तर बुधबार बैंकिङ समूह पनि उचालिएको छ । नेप्से सूचकमात्रै बढेको होइन, कारोबार रकमले पनि छलाङ मारेको छ ।



सूचक र कारोबार रकम दुवैमा उछाल आएकाले बजारको वृद्धि दिगो हुनेमा लगानीकर्ता निकै आशावादी देखिएका छन् । धितोपत्र बोर्डले सेमि अनलाइन सुरु गर्ने बित्तिकै बजारमा उछाल आउँदा लगानीकर्ता दङ परेका छन् । नेप्से सूचक बुधबार करिब ६० अंकसम्म बढ्यो । कारोबारको अन्तिम प्रहरमा आउनै लाग्दा फेरि एकाएक बिक्री चाप बढेपछि नेप्सेको वृद्धिमा भने दबाब पर्यो ।



लामो समयसम्म बजार झर्दा चरम निराशाको अवस्थामा पुगेका लगानीकर्ताहरुका लागि बजारमा सुधार आउनु निकै खुशीको विषय हो । तर बजार बेस्सरी बढेका बेला सेयर कारोबार गर्दा अझै बढी होसियारी हुन जरुरी हुन्छ । सामान्यतयः बढेका बेला बेच्ने र घट्दा किन्ने सिद्धान्त अवलम्बन गर्न सके क्षति न्यूनीकरणमा सहयोग पुग्न सक्छ ।



नयाँ वर्षको उमँगसँगै बजारमा तरलता सहज हुँदै गएको अनुमान गरिएको छ । नयाँ बजेट तयारी हुनै लाग्दा चालु बजेट खर्च गर्ने क्रम बढ्न थालेको छ । यसो हुँदा सरकारी कोषबाट पैसा बैंक तथा बजारमा आउने गर्छ । यसले पनि लगानीकर्तालाई सजिलो भएको अनुमान गरिंदैछ । तर यी सबै पक्ष सहायक मात्र हुन् ।



बजार चुलिनुमा निरन्तर भाउ घटेको मौकामा केही ठूला लगानीकर्ता प्रवेश गरेका थिए । सामूहिक लगानी कोषहरु र संस्थागत लगानीकर्ताले पनि यही मौकाको फाइदा उठाएको बुझ्न सकिन्छ । उनीहरुले यतिबेला मनग्ये नाफा लिन पाएका छन् । बजारमा उत्साह आउँदा साना लगानीकर्ता झुमिने त हाम्रो परम्परा जस्तै बनिसकेको छ ।

 

 

पछिल्लो समय पुँजी बजार चर्को बैंक ब्याजदरले थला परेको थियो । यही बेला सेयरको अधिक आपूर्तिले अप्ठेरो बनाएको हो । तर बजारमा उछाल आइरहँदा यो दुवै पक्षमा भने त्यति राम्रो सुधार भइसकेको अवस्था चाहिँ होइन । 

 

नेप्से सूचक ३१.८३ अंकले बढेर १३६३.०१ विन्दुमा आइपुगेको छ । समग्रमा बजार २.३९% ले बढेको हो । कुल १६५ कम्पनीको १ अर्ब १२ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । कुल २४ लाख ४० हजार १०५ कित्ता सेयर किनबेच भएका छन् ।



नेप्सेमा कारोबार भएका सबै समूहका सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह १०७.७३ अंकले बढेको छ । यसैगरी, विकास बैंक समूह ६५.३४ अंक र बिमा सूचक ६३.५१ अंकले माथि लागेका छन् । वाणिज्य बैंक समूह पनि ३२.८९ अंकले बढेको छ । 
 

 

कारोबार रकममा युनाइटेड इन्सुरेन्स कम्पनीले अग्रता लिएको छ । युनाइटेडको ५ करोड ९२ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः चिलिमे हाइड्रोपावर र सानिमा बैंक परेका छन् । 

 

                कारोबार रकमका आधारमा प्रमुख १० कम्पनी 

 

पुँजी बजार माइक्रोफाइनान्स

विशेष