अन्तरवार्ता भिडियो कभर स्टोरी

उपभोक्तावादी भन्छन्, ‘तीन करोड लिएर मातृका यादव बने व्यापारीका ‘पाल्तु’ (भिडियोसहित)

उपभोक्तावादी भन्छन्, ‘तीन करोड लिएर मातृका यादव बने व्यापारीका ‘पाल्तु’ (भिडियोसहित)

काठमाडौं । आपूर्तिमन्त्री मातृका यादवले व्यापारीको प्रभावमा परेर उपभोक्ताहितविपरीतका क्रियाकलाप गर्न थालेको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाउन थालेका छन् । केही दिन अघि उपभोक्ताअधिकारकर्मीहरुको भेलाले समेत यस्तो निष्कर्ष निकालेको थियो । नेपाल आजसँगको सम्वादका क्रममा नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण समूहका अध्यक्ष अप्सरा कोइरालाले आपूर्तिमन्त्री मातृका यादवको पछिल्लो गतिविधि शंकास्पद रहेको दावी गरेकी छन् । 

 

आपूर्तिमन्त्री यादवले यतिसम्म गरेका छन् कि अहिले बजार अनुगमनलाई पूर्णतः रोक लगाएका छन् । अध्यक्ष कोइराला भन्छिन्, ‘क्रान्तिकारी भनेर चिनिएका मन्त्री यादव आएपछि उनले बजार अनुगमन ठप्प पारेकाछन् । अनुगमन गर्ने, उपभोक्ता लुट्नेहरुविरुद्ध मुद्धा दर्ता गर्न लाग्दा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई सरुवा नै गरिदिए । दाहाललाई मन्त्री यादवले लगाएको आरोप हो– उनले उपभोक्तामाराविरुद्ध काम गरे भन्ने ।’

 

कोइरालाको भनाइ अनुसार व्यापारीसँग ३ करोड रुपैयाँ लिएर मन्त्री यादवले बजार अनुगमन रोकेका हुन् र त्यही ३ करोड मोलमा विभागका महानिर्देशक दाहाललाई पनि सरुवा गरेका हुन् ।


मन्त्री यादव अहिले उपभोक्ताको नभएर विशुद्ध व्यापारीकै मन्त्री भएको कोइरालाको आरोप छ । उनले भनिन्, ‘महानिर्देशकले विद्यालयको लुट, अस्पतालको लुटविरुद्ध पनि कारबाही थाल्नु भएको थियो । त्यति भएपछि त शिक्षा र स्वास्थ्यका माफियाहरुले कहाँ बाँकी राख्थे ।’

 

 ‘जसले उपभोक्ताका पक्षमा काम कसैले गर्न खोज्छ, त्यसपछि त्यस्तो व्यक्ति मातृका  यादवको शत्रू बन्दो रहेछ । यादवले उपभोक्ताको हितमा काम गर्ने मान्छे फटाहा लाग्दो रहेछ । त्यसपछि उहाँले व्यापारीको लुट रोक्नेहरुलाई कसैलाई बाँकी राख्नु हुन्न । कर्मचारीहरुमै मोटो रकम लिएर व्यापारीको पक्षमा काम गर्ने  गरी पाल्तु बन्नु भएको चर्चा छ ।’ कोइरालाले भनिन् । 

 

नेपालमा दाल चामलमा मात्रै नभएर ठूलो रकमको किनमेलमा पनि लुट छ । नेपालमा अटोमोबाइल क्षेत्रमा पनि कालोबजारी हुने गरेको छ । अध्यक्ष कोइरालाले ८३ प्रतिशतसम्म नाफा राख्ने हुन्डाई कारको नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलविरुद्ध आफ्नो संस्थाले मुद्धा दर्ता गर्ने बताइन् । 

 

नेपालमा न्यूनबिजकीकरणको समस्याका कारण पनि व्यापारीले उच्च नाफा राखेको देखिने गरेको कोइराला बताउँछिन् । उनले न्यून बिजकीकरण नगरी व्यापारीले ठिक मूल्यांकन गरेर कर तिर्ने हो भने व्यापारमा सुधार आउने बताइन् । 

उपभोक्ता अप्सरा कोइराला मातृका यादव

विशेष