समाज

५१ वर्षकाे उमेरमा घर भन्दा क्याम्पस प्याराे

अरू जसरी नै क्याम्पस जान्छिन् यी ५१ वर्षे महिला

५१ वर्षकाे उमेरमा घर भन्दा क्याम्पस प्याराे

आत्मबल र दृढता भए पढ्ने इच्छा पूरा गर्न उमेरले छेक्दो रहेनछ ।  यसको उदाहरण हुन् रूपन्देहीकी लक्ष्मीदेवी अर्याल ।

 

तिलोत्तमा नगरपालिका शङ्करनगर निवासी अर्याल अहिले ५१ वर्षकी भइन्। तर उनी स्नातक तहको अध्ययन गर्न अरू विद्यार्थीसरह नै क्याम्पस जान्छिन्।

 

कहिले औपचारिक त कहिले अनौपचारिक कक्षा लिँदै स्थानीय विद्यालयमा कक्षा आठमा भर्ना भएकी अर्यालले पढाइलाई अहिलेसम्म निरन्तरता दिँदै आएकी छन्।

 

उनी अहिले स्थानीय दुर्गादत्त क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छिन्।


छोराछोरीहरू सबैले घरजम गरिरहँदा उनलाई भने पढाइकै चटारो छ। रहर हुँदाहुँदै पनि बिहे भइसकेपछि महिलाले पढ्नु पर्दैन भन्ने समाजको मान्यताका कारण उनले पढाइ छोड्नुपर्‍यो।

 

तर पछि सञ्चारमाध्यममा आफ्नै उमेरका महिलाहरू पनि पढ्न गएको समाचार देखेपछि आफूलाई प्रेरणा प्राप्त भएको उनी बताउँछिन्।

 

सत्चालीस वर्षको उमेरमा कक्षा ८ मा भर्ना भएकी अर्याललाई १४ वर्षका केटाकेटी सँगसँगै पढ्दा सुरुमा केही असहज भयो।

"तर बिस्तारै बानी पर्दै गयो," उनी भन्छिन्।

 

मेरो उमेरका महिला वा पुरुष जो भए पनि पढ्नका लागि नलजाउनुहोस्।...पढेपछि केही न केही नयाँ कुरा त सिकिन्छ, सिकिन्छ!


"सहपाठीहरूले नबुझेको कुरा मलाई सोध्न थाले," पुराना कुरा सम्झिँदै उनी भन्छिन्, ""मैले पनि नजानेका कुरा शिक्षकलाई सोध भनेर उत्प्रेरणा दिइरहेँ। त्यसपछि उनीहरू उठेर फटाफट प्रश्नहरू सोध्न थाले।"

 

सुरुमा शिक्षकहरूले पनि उनलाई पढाउन अफ्ठेरो माने जस्तो उनलाई लागेको  बिबिसीले लेखेकाे छ । "किनभने केही शिक्षक त मभन्दा पनि निकै कम उमेरका थिए," उनी भन्छिन्।

 

"तर बिस्तारै मैले पढाइमा राम्रो गर्न थालेँ । उनीहरूले पनि मेरो सम्मान गर्न थाले।"


अनुभव
आठ कक्षाको पहिलो त्रैमासिक परीक्षामा अनुत्तीर्ण भएकी भए पनि उनले त्यस पछिका परीक्षामा भने राम्रो गरिन्। एसएलसीसम्मै उनी प्रथम श्रेणीमा उत्तीर्ण भइन्। उच्चमाध्यमिक तहको परीक्षामा ५८ प्रतिशत आयो।

 

घरमा पढ्न त्यति नभ्याइने भए पनि मिलेसम्म समय मिलाउँदै आएको उनी बताउँछिन्। तर उनले उपाय निकालेकी छन् - काम गर्दै मनमनै पाठ सम्झिने।

 

पहिला गाह्रो जस्तो लागे पनि पढ्न थालेपछि कतिपय विषय सजिलो हुँदै जाने उनको अनुभव छ। उनी भन्छिन्, "मेरो उमेरका महिला वा पुरुष जो भए पनि पढ्नका लागि नलजाउनुहोस्। भित्रैबाट चाहना जगाउनुहोस्। पढेपछि केही न केही नयाँ कुरा त सिकिन्छ, सिकिन्छ!"

लक्ष्मीदेवी अर्याल आत्मबल दृढता

विशेष