गत सिजनका फाइनल टोलीको क्वार्टरफाइनल भिडन्त : कसले मार्ला बाजी
यस्तो छ यी दुई टोलीबीचको खेल इतिहास
गत सिजन च्याम्पियन्स लिग फाइनलमा भिडेका स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस यसपटक क्वाटरफाइनलमै भिड्दै छन् ।
मड्रिड लगातार तेस्रो उपाधि बलियो पार्ने योजनामा छ भने युभेन्टस गएको वर्षको हारको बदला लिने सोचमा देखिन्छ । गएको वर्ष युभेन्टसलाई ४–१ ले हराएर मड्रिडले उपाधि जितको थियो ।
यो वर्ष अन्य कुनै पनि प्रतियोगितामा बलियो उपस्थिति देखाउन नसकेको मड्रिड च्याम्पियन्स लिगमा केन्द्रित छ । युभेन्टस र रियल मड्रिडबीच च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेग आउँदो बुधबार नेपाली समयअनुसार राति साढे १२ बजे हुँदै छ ।
च्याम्पियन्स लिगमा रियल मड्रिड र युभेन्टसले खेलेका १९ खेलमा मड्रिडले ९ खेल जितेको छ । युभेन्टसले ८ खेल जितेको छ । दुई खेल बराबरीमा सकिएका छन् । गोलका हिसाबले दुई टिमले एकअर्काविरुद्ध २२–२२ गोल गरेका छन् ।
यसपटक ला लिगामा कमजोर देखिए पनि रियल मड्रिड च्याम्पियन्स लिगमा भने बलियो रुपमा प्रस्तुत भइरहेको छ ।
स्पेनिस ला लिगामा ३० खेलमा ६३ अंकसहित मड्रिड तेस्रो स्थानमा छ । युभेन्टस भने इटालियन ‘सिरी ए’ को शीर्ष स्थानमा छ । युभेन्टसको ३० खेलमा ७८ अंक छ ।