काठमाडौंले लगातार दुईचोटि जित्दा धनगढीले दुईचोटि हार्यो
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ। काठमाडौंले सोमबार भएको खेलमा रुपेन्देहीलाई ६३ रनले पराजित गरेको हो।
डिपिएलको पहिलो खेलमा काठमाडौंले टिम चौराहा धनगढीलाई हराएको थियो। रुपेन्देही भने लगातार दोस्रो खेलमा पराजित भयो। यसअघि रुपन्देहीलाई अत्तरियाले पराजित गरेको थियो। सोमबार काठमाडौंले दिएको १ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको रुपन्देही १८.४ ओभरमा अलआउट भयो।
रुपन्देहीका ओपनर प्रदीप ऐरीले विस्फोटक ब्याटिङ गरेपनि जितक लागि पर्याप्त हुन सकेन। ऐरीले ४१ बलमा ५७ रन जोडे। उनले ५ चौका र ५ छक्का प्रहार गरे। उनका ओपनिङ पार्टनर सागर पुनले १५ बलमा खेल्दा २ छक्का हिर्काउँदै १८ रन जोडे।
पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको रुपन्देहीले त्यसपछि लगातार विकेट गुमाउदा हार खेप्न बाध्य भयो। रुपन्देहीका सुफायन मोहम्मद ४, दीपक प्रसाद १०, सिद्धान्त लोहनी ७, सोनु अन्सारी ९, अमरसिंह रटेउला २ र विक्रम भुषास ७ रनमा आउट भएका थिए।
बलिङतर्फ काठमाडौंका रासिद खानले २ विकेट लिए। ललित राजवंशीले ३ विकेट तथा साहव अलाम हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन जोडे।
काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले २७ बलमा १ चौका र २ छक्काको मद्दतमा ३० रन जोडे। उनका ओपनिङ पार्टनर सुवोध भाटीले ४२ रनको योगदान गरे। उनले २५ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा रनआउट हुँदा भूपेन्द्र थापाले १४ रन जोडे।
विस्फोटक ब्याटिङ गरेका सनी पटेलले नटआउट ४८ रन जोडे। उनले १९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। नरेश बुढाऐरले पनि नटआउट ३० रन जोडे। उनले १८ बलमा २ चौका र २ छक्का हिर्काए।
बलिङतर्फ रुपन्देहीका सुफायन मोहम्मद, विक्रम भुषास र अमरसिंह रटेउलाले १–१ विकेट लिए।