अन्तरवार्ता भिडियो कभर स्टोरी

कागजमा जेसुकै होस्, नेपाल हिन्दुराष्ट्र नै हो (भिडियो)

कागजमा जेसुकै होस्, नेपाल हिन्दुराष्ट्र नै हो (भिडियो)

काठमाडौं । दुई पटकको संविधानसभामा प्रतिनिधित्व जनाएको नेपाल परिवार दल अहिलेको संसदमा छैन । तर यो पार्टी संसदमा नभए पनि अघिल्ला दुई संविधानसभामा उसले प्राप्त गरेको मत र हालैको निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले प्राप्त गरेको मत हेर्दा नेकपा एमालेले यो सानु दललाई धन्यवाद दिनै पर्छ । किनभने यो पार्टीका जति मतदाता थिए देशभर, सोही बमोजिम मात्रै कांग्रेस भन्दा बढी मत समानुपातिकमा एमालेले पायो । 

 

एमालेसँग परिवार दलले चुनाव अघि तीन बुँदे सहमति गरेर तालमेल गरेको थियो । त्यसको नतिजा एमालेका लागि सुखद र्ह्यो तर परिवार दलको संसदमा प्रतिनिधित्व अहिलेसम्म हुन सकेको छैन । 

 

यो पार्टीका अध्यक्ष एकनाथ ढकाल गएको संविधानसभा सदस्य थिए । उनी रहेकै सभाले संविधान जारी गरेपछि यो पार्टी अहिले ओझेलमा परे पनि पार्टी स्थापना गर्नुको सार्थकता प्राप्त भयो । 

 

एकनाथ ढकालबारे मानिसहरुले अनेक टिकाटिप्पणी गर्छन् । धेरैलाई उनको धर्म हिन्दु होइन कि भन्ने पनि शंका गर्छन् । तर नेपालआजसँगको कुराकानीका क्रममा अध्यक्ष ढकालले नेपाल मूलतः हिन्दु राष्ट्र नै भएको बताए । उनले भने, ‘हो, कागजमा धर्मनिरपेक्ष लेखिएको होला, तर नेपाल हिन्दु राष्ट्र नै हो ।’


विश्वका दर्जनौ मुलुक भ्रमण गरेका ढकाल राजनीतिक विषयमा घाम झैं छर्लंग छन् । उनी भन्छन्, ‘अब राजनीतिक एजेन्डा सकियो । अब समृद्धिका लागि काम गर्ने हो । हामी सबैले विश्वका विकसित मुलुक देखेका छौं । सोही बमोजिम हामीले पनि विकासमा अगाडि बढ्नु पर्छ ।’

 

परिवार दलले सिंगो मुलुकलाई घर र सबै जनतालाई सोही घरका सदस्य मान्छ । जसका कारण अध्यक्ष ढकालले पनि पार्टीको नाम नै नेपाल परिवार दल राखे । हरेक जिल्लामा एक हजारभन्दा बढी समर्थक नेपाल परिवार दलको छ । यो दलको संगठन अझै सुदृढ बनाउँदै लैजाने यो दलले योजना तयार पारिसकेको छ । 

 

केपी ओलीको नेतृत्वमा सरकार गठन भएपछि सरकारले गरिरहेका कामकारबाही बारे अहिले नै केही टिप्पणी गरिहाल्नु हतार हुने अध्यक्ष ढकालको भनाइ छ । तर उनले सबै मन्त्रीहरुलाई घोषणा गर्ने, योजना ल्याउने, निर्देशन दिनेमा सिमित नहुन सुझाव दिए । उनले भने, ‘कहिलेसम्म घोषणा नै गरिरहने, निर्देशन मात्रै दिइरहने ? निर्देशनले मात्रै काम चल्दैन भन्ने प्रमाणित भइसकेको छ । अब एक्सनमै जानु ठिक हुन्छ ।’ 

 

सरकारले विगतमा धेरै आश्वासन जनतालाई दिएको छ । धेरै काम एकै पटक गर्न सकिदैन । यसकारण प्राथमिकता तोकेर काम गर्नु उपयुक्त हुने अध्यक्ष ढकाल बताउँछन् । देशको अर्थतन्त्रको आकार नै सानो भएकोले एकै पटक सबै खालका भौतिक पूर्वाधारमा लगानी गर्न सकिदैन होला । यसकारण प्राथमिकता तोक्नु पर्ने पूर्वमन्त्री ढकाल बताउँछन् । 

 

अब पनि आर्थिक विकासलाई गति दिन नसक्ने हो भने फेरि यस्ता सुनौलो मौका नआउने ढकालको विश्लेषण छ । हालको गठबन्धन सरकारमा राम्रो क्षमता भएका व्यक्तिहरु मन्त्री भएका छन् । तर पनि मन्त्रीहरुको पर्फर्मेन्स राम्रो देखिएको छैन । कारण विश्लेषण गर्दै अध्यक्ष ढकाल भन्छन्, ‘गठबन्धन सरकारमा विश्वासको कमी भएका कारण सरकारको काम चुस्त हुन सकेको छैन । राम्रो टिम भएर पनि डेलिभरीमा सुस्तता आएको छ । केही कमजोरी छ ।’

 

केपी ओलीलाई अहिले परिस्थितिले सुनौलो अवसर दिएको ढकालको ठहर छ । सरकार पनि बलियो छ । यो अवसरलाई पनि केपी ओलीले उपयोग गर्न सकेनन् भने त्यो उनका लागि त प्रत्युपादक हुँदै हुन्छ, एमालेलाई पनि ठूलो धक्का लाग्छ– अध्यक्ष ढकाल दावी गर्छन् । 

 

मुलुकको अवस्थालाई बिरामी शरिरसँग तुलना गर्दै उनले भने, ‘राष्ट्र बिरामी छ । अंग अंगमा रोग लागेको छ । शल्यक्रिया गर्न हातमा चक्कु बोक्नु पर्ने अवस्था छ । त्यो चक्कु डाकाको हातको जस्तो नभएर एक सर्जनको हातको चक्कु जस्तो हुनुपर्छ । डाकाले अरुको ज्यान लिन चक्कु समाउँछ, सर्जनले ज्यान बचाउन चक्कु समाउँछ । देशलाई त्यस्तै सर्जनको आवश्यकता छ ।’ 

 

देशलाई आर्थिक विकासको दिशामा अगाडि बढाउन पैसा चाहिन्छ । सरकारलाई पैसा जनताले नै करको रुपमा बुझाउँछन् । तर नेपालमा कर तिर्न मानिसहरु उत्साहित छैनन् । किनभने जनताले तिरको करलाई सरकारले मोजमस्तीमा उडाउँछ, भ्रष्टाचारमा सक्किन्छ भन्ने सोच छ । ढकालको कर र मनोविज्ञानबारेको स्पष्ट विचार छ, ‘मानिसहरुको त्यो सोचलाई बदल्ने वातावरण सरकारले बनाउनु पर्छ ।

 

हामीले तिरको करबाट हामी आफैले स्वास्थ्य, बालबालिकाका लागि शिक्षा, बीमा, सफा हावा र सुविधाजनक सडक, यातायात पाउनेछौं भन्ने विश्वास जनतामा आउनेबित्तिकै कर संकलन बढी हुन्छ । सरकारलाई सजिलो हुन्छ ।’ 

 

सामाजिक क्षेत्र, धार्मिक क्रियाकलाप र राजनीतिलाई एकसाथ अगाडि बढाएका अध्यक्ष एकनाथ ढकालको समाज प्रतिको दृष्टिकोण पनि आधुनिक मान्यतासँग मेल खाने प्रकृतिको छ । भन्छन्, ‘हाम्रो समाज बहुविविधतायुक्त हो । धेरै भाषा, जातिको बसोबास भएको मुलुक हो । यस्तो विविधताको संरक्षण गर्दै विकास गर्ने हो ।’  

 

छिमेकी मुलुकसँगको सम्बन्धमा नेपालको कुटनीतिक अक्सर कमजोर नै दरिन्छ । तर केही विषयहरु छन् जसलाई निरुपण गर्नैै पर्ने हुन्छ । अध्यक्ष ढकाल भन्छन्, ‘भारतसँगको १९५० को सन्धि असमान छ । हामीलाई अप्ठ्यारो पार्ने खालको छ । यो पुनरावलोकन हुनै पर्छ । छिमेकीसँगको सम्बन्ध सुधारका लागि यस्ता असमान सन्धि पनुरावलोकन गर्नु नै दुई मित्र राष्ट्रका लागि हितकर हुन्छ ।’ 

एकनाथ ढकाल नेपाल परिवार दल

विशेष