मनोरञ्जन

१० कक्षामा पुगेकी करिश्माको डाक्टर बन्ने इच्छा !

१० कक्षामा पुगेकी करिश्माको डाक्टर बन्ने इच्छा !

करिश्मा मानन्धर

काठमाडाैं । खासमा म कुनै पनि कुरालाई अधुरो राख्न चाहन्नँ । त्यसैले मैले चाहेको कुरा जसरी पनि पूरा गरेरै छाड्ने गरेकी छु । जतिवेला म अमेरिका गएँ, त्यतिवेला अमेरिका जानु मेरो लागि असम्भवजस्तै थियो । तर, म गएरै छाडेँ ।

 

हुन त सबै रहर पूरा गर्न त कहाँ सकिन्छ र ! तर, पनि मनमा गडेका रहर भने पूरा गर्ने नै बानी छ मेरो । मलाई आफूलाई लागेको रहर जस्तोसुकै परिस्थितिमा पनि पूरा गरेरै छाड्नुपर्छ भन्ने लाग्छ । त्यसका लागि कडाभन्दा कडा मिहिनेत गर्ने गर्दछु । मलाई लागेको रहर अरूले नबुझिदिँदा भने एकदमै चित्त दुख्छ । तर, मान्छेहरू यस्तै हुन् भनेर चित्त बुझाउने गरेकी छु । सानै उमेरमा कलाकारितामा लागेँ । पढ्ने अवस्था भएन । त्यसकारण मलाई सबैभन्दा ठूलो रहर पढ्ने थियो । मैले त्यो रहर अहिले पूरा गर्दै छु ।

 

मैले पढाइ अघि बढाएको देखेर कत्तिले त ‘मर्ने वेला हरियो काँक्रो’ भनेर मेरो मजाकसमेत उडाएका छन् । तर, मसँग चाहेको कुरा जसरी पनि पूरा गर्छु भन्ने हिम्मत छ र गर्दै पनि आइरहेकी छु । मलाई पिएचडी गर्ने चाहना छ । त्यसका लागि मैले अध्ययनलाई निरन्तरता दिइरहेकी छु । अब म १० कक्षामा पढ्दै छु । कसैले मेरो खुट्टा तान्छ भने म त्यसलाई नराम्रो रूपमा लिन्नँ । र, उनीहरूको कारणले मेरा खुट्टा डगमगाउँदैन पनि ।

 

सानैदेखि जनताको सेवा गर्ने रहर थियो । विविध कारणले गर्दा पूरा हुन पाएको थिएन । कलाकारितामार्फत मनोरञ्जन दिने काम त गरिरहेकी छु । तर, प्रत्यक्ष रूपमा समाजसेवा गर्न अहिले राजनीतिमा आबद्ध छु । त्यो पूरा पनि हुँदै छ ।

नयाँ पत्रिकाबाट

करिश्मा मानन्धर

विशेष