विचार

हाम्रो समाजको दुखः विहे गराउने पण्डित साइकलमा, डिभोर्स गराउने वकिल कारमा !

आदर्श जीवनको लागि...

हाम्रो समाजको दुखः विहे गराउने पण्डित साइकलमा, डिभोर्स गराउने वकिल कारमा !

संकेत काेइराला

 

एउटा धनी मानिस अस्पतालको बेडमा थियो । उपचारका सबै प्रयास निष्फल भएपछि डाक्टरले सन्तान बोलाएर घर व्यवहारको काम जिम्मा लाउन आग्रह गरे । ती धनी मानिसले सन्ततिको सट्टा मुन्सी बोलाउन लगाए । मुन्सीसँग उनले सम्पत्तिको सम्पूर्ण फेहरिस्त मागे । लगत्तै ज्योतिष मगाए । ज्योतिषसँग उनको जिज्ञासा थियो ‘अर्को जुनीमा म कुन ठाउँमा जन्म लिन्छु ?’ ज्योतिषले पेसाअनुसार कुनै ठाउँको नाम लिएर त्यहीँ साल–नाल गाडिने ठोकुवा गरे । ती महाजनले तत्काल वकिल झिकाएर आदेश दिए ‘मेरो सम्पूर्ण जायजेथा ज्योतिषले भनेको ठाउँमा स्थानान्तरण गरी मेरा नाममा पास गराउनू ।’

  
यो ठट्टा नेपाली राजनीतिका सारथीसँग हुबहु मेल खान्छ । सत्ता पाएर के गर्नुपर्छ ? त्यो सत्यसँग दश कोश टाढा भए पनि सत्ताको चास्नी उनीहरुका लागि रुचिकर छ । भर्तृहरि नीतिले भनेको छ ‘कहिले साँचो, कहिले भूmठो, कहिले कठोर, कहिले मधुर, कहिले हिंश्रक, कहिले खर्चिलो, कहिले प्रशस्त कमाउने यसप्रकार वेश्यासमान राजनीतिका अनेकौं रुप हुन्छन् ।’

 

मानिस समस्याका कारण आतिन्छन्, रुन्छन्, कराउँछन्, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । रामराज्य जहाँ राजाको एउटा कपाल फुल्यो भने उत्तराधिकारीलाई राज्य सुम्पिइन्थ्यो । अपराधीहरु अपराध गरेपछि सरासर आपैंm जेल जान्थे । यद्यपि रामराज्यमै कैकेयीलाई दलाली सिकाउने मन्थराजस्ता पात्र जीवित थिइन् ।

 

रावण राजमा कुलद्रोह गरेरै भए पनि सत्यपथ नछोड्ने विभीषणको अस्तित्व थियो । अहिले जसरी विज्ञापन गर्नेको संसार छ, त्यो बेला रावणले सीता हरण गरेको अन्तिम सूचना दिएर प्राण परित्याग गर्ने जटायुको खुटखबर पाइँदैन । त्यो सूचना नपाएको भए सम्भवतः रामायण पहिलो पृष्ठमै अन्त्य हुनसक्थ्यो । नल र निल रामायणकालीन त्यस्ता सिद्धहस्त ईञ्जिनीयर थिए, जसले सागरमा फालेको ढुंगा मात्र तैरिन्थ्यो । तिनै नल र निलले रातारात तयार गरेको पुलले रामलाई अयोध्याको सार्थक नेता बनायो । रामायण, महाभारत, गीताको प्रचार भएर नै ती ग्रन्थ अमर दस्तावेज बने । तिनैको हाराहारीमा रहेको राजा जनक र अष्टावक्रको प्रश्नोत्तर रहेको अष्टावक्र गीता ओझेलमा प¥यो ।

 

प्रकृतिको आफ्नो नियम छ । संसारका हरेक प्राणीका लागि समयको लक्ष्मण रेखा एउटै हो । नून र सुनको भाउ एउटै भएका दिन सत्ययुग प्रारम्भ हुने पण्डितहरुको तर्क छ । तर समय पानी हो । यसमा कस्तो रंग मिसाउने त्यो मानव कर्ममा निर्भर रहन्छ । नेताहरुको तर्कपछि सूर्य पूर्वबाट उदाएर पश्चिम अस्ताउने गरेको होइन । मुलुक संघीयतामा गएपछि लामखुट्टे मानिसको रगत चुस्ने कलामा पारंगत भएको होइन । गणतन्त्रले गाईले घाँस खान र बाघले मृग मार्न थालेको होइन । ठण्डी मौसममा हिन्दु, मुस्लिम, इसाइ, बुद्धिष्ट सबैलाई जाडो हुन्छ । खुर्सानीको पीरोले राल सिंगान बनाउँछ । टिम्मुरले सबैको जीब्रो उत्तिक्कै पर्पराउँछ । काँडाले घोच्दा सबैको हातखुट्टाबाट रातै रगत निस्कन्छ । खुसी हुँदा धराका सम्पूर्ण मानिसको अनुहारबाट निस्कने उच्छबास एकै हो । मन दुख्दा आँखाबाट निस्कने आँसुको प्रकृति समान हो । मानिसको आँखाबाट निस्कने आँसु त्यस्तो पदार्थ हो, जहाँ एक प्रतिशत पानी र उनान्सय प्रतिशत भाव हुन्छ ।

 

त्यसैले आँसुसँग ठट्टा गर्नु हुँदैन । कर्म नराम्रो छ भने भाग्य पनि रुन्छ  । सबैलाई थाहा छ– हिँड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगालाई झन् लच्काउँछ मान्छे । जंगलमा सुरिलो र सिधा रुख नै काटिन्छ । अरु त अरु तपाईंका ईन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य हो । जवानी डिक हो भने बृद्ध कमा, अनि मृत्यु फुलस्टप । भूmटले सत्यलाई दुख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन त कसैको हुँदैन ।

 

बुद्धवाणी छ ‘धान नबन चामल बन, धान बनेमा फेरि तिमीलाई यो दुखरुपी हिलोमा रोप्ने छन् । चामल बनेमा मुक्ति पाउने छौ ।’ मूल्य पानीको हैन, प्यासको हुन्छ । मूल्य मृत्यको नभई सासको हुन्छ । मूल्य प्रेमको नभएर विश्वासको हुन्छ । छाताले पानी त रोक्न सक्दैन । वर्षामा उभिने साहस दिन सक्छ । आत्मविश्वासले सफलताको ग्यारेन्टी त गर्न सक्दैन तर संघर्ष गर्ने प्रेरणा अवश्य दिन्छ । जन्म लिनु भाग्य हो । मृत्यु समय हो । मृत्युपछि अरुको मनमा जीवित रहनु कर्मको फल हो । मानिस मिलन चाहन्छ, विछोड छ । जन्ममा रमाउँछ तर जन्मसँगै मृत्यु टाँसिएर आउँछ । पुन्यको गाथा गाउँछ, पापले सँगसँगै गाँजिहाल्छ ।

 

हेर्नुस् त ! विहे गराउने पण्डित साइकल चढेर आउँछ, डिभोर्स गराउने वकिल कार चढेर आउँछ । यस्तै छ यहाँ, जुटाउने भन्दा फुटाउनेको शान बढी हुन्छ । सामाजिक सञ्जालको बाहुल्यपछि त झन् मानिस विवेक शून्य रोबर्ट बन्दैछ । एक रुपियाँको माल बोकेर मानिस सामाजिक सञ्जालमा करोडौंको दलालीमा समय खर्चिन व्यस्त छ । मेहनतभन्दा मानिस चट्कीको उपलब्धीमा रमाएको छ । पूर्वाग्रहविना उल्लेख यो सन्दर्भ वर्तमानसँग मेल खान्छ ।
 

स्याङ्जाली र झापाली एकै घरमा बस्थे । झापाली मासु बोकेर आएछ । यो देखेर स्याङजाली पनि मूला बोकेर पसेछ । उसले झापालीलाई मूला दिँदै भनेछ ‘ए साथी यो मूला पनि तिमी नै पकाउ । मासु एक चोक्टो पनि दिनुपर्दैन मेरो मूला फिर्ता दिए हुन्छ ।’ मासु पाक्यो । झापालीले मूलाका टुक्रा फिर्ता दियो । मूला आउँदा स्वभावतः मासु आउने भइगो । विना लगानी टन्न मासु खायो स्याङजालीले । हो, नीतिहरुको मूल नीति राजनीति यस्तै अवसरबादबाट निर्देशित छ ।
 

मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस् । लेख्नुअघि दुईपल्ट सोच्नुस् । केही काम गर्नुअघि तीनपल्ट सोच्नुस् । सधैँ हेक्का राख्नुस् ‘घमण्डले मान्छे फुल्न सक्ला तर पैmलिन सक्दैन । जो मान्छेसँग धनबाहेक अरु केही छैन नि, त्यो भन्दा महादरिद्र संसारमा अरु कोही हुँदैन । कन्जुसलाई दानी मन पर्दैन । लोभी मगन्तेसँग डाढ गर्छ । रुपवानका लागि बुढ्यौली शत्रु सावित हुन्छ । व्यभिचारी महिलालाई पति मन पर्दैन । गरिबलाई धनी मन पर्दैन । तर जसको मन शोकले ब्याकुल छ नि उसलाई केही मन पर्दैन ।
 

जो मान्छेसँग धनबाहेक अरु केही छैन, उ नै संसारको सवैभन्दा महादरिद्र हो । गरिबले त कम से कम सपनामै धनी भएको देख्ला तर धनीले के देख्ला ! अनुमान गर्नसक्नुहुन्छ ? बाले भन्थे– बाबु, जत्रो ओढ्ने छ, त्यतिमात्र खुट्टा पसार्नु । तर विडम्बना म सत्य चाहन्छु , असत्य छ । जीवन चाहन्छु, मरण छ । संयोग खोज्छु, वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसँग अपूर्णता आइलाग्छ । मन्त्रको जप गर्ने काम भक्तको हो, तर गन्ने काम भगवानको । प्रेम, धन र जवानीका अगाडि मानिस वफादार हुँदैन । यसरी नकमाउनु कि पाप होस् । यसरी खर्च नगर्नुको रिन लागोस् । यसरी नखानु कि अपच होस् । यसरी नहिंड्नु कि पुग्न ढिलो होस् । गाई विभिन्न रंगका भए पनि दूध सेतै हुन्छ । अलग अलग धर्मको शैली अलग भए पनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ– मानिसले शुभ कर्म गर्नुपर्छ ।
 

सधैं एक पन्थ, एक ग्रन्थ र एक सन्तको बाटो अपनाउ । हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनुपर्छ, दिनेको हात कहिल्यै खाली हुँदैन तर माग्नेको पेट कहिल्यै भरिँदैन । आजकल पद र पैसाका लागि मानिसको भागदौड छ । तर शान्ति उसले पाएको छैन । किनभने शान्ति सम्पन्नतामा हुँदैन । शान्ति पाउनका लागि हामीले चार गुणको विकास गर्नुपर्छ– स्वयंसँग मैत्री, करुणा, प्रसन्नता र कृतज्ञता । जेष्ठ बन्न सजिलो छ तर श्रेष्ठ बन्न कठिन । श्रेष्ठ बन्न दृष्टिकोण बदल्नुपर्छ ।

 
घरमा अन्न हुनेलाई भन्दा नहुनेलाई बढी भोक लाग्छ । पत्याउनुहुन्छ ? निक्कै विलासी भनिएको देश बेलायतका विद्यार्थीहरु सानो भन्दा सानो विषयमा पनि अज्ञानी ठहरिए । भर्खरै गरिएको एक अनुसन्धान अनुसार बेलायतका १० जनामा एकजनालाई गोलभेंडामा बोटमा फल्छ भन्ने पत्तै छैन । उनीहरुको बुझाइमा यो माटोमुनि फल्छ । एक तिहाई प्राथमिक विद्यालयका विद्यार्थीहरु भन्छन्– चीज रुखमा फल्छ । १८ प्रतिशत साना विद्यार्थी माछाबाट बनाइने फिस फिंगर कुखुराको मासुबाट बनेको ठान्छन् । के यसो भन्दैमा लोकतन्त्रको जननी बेलायतलाई दुत्कार्न मिल्छ ? अहँ मिल्दैन । भनिन्छ– उपयोग विनाको धन काम छैन । नम्रता विनाको विद्या काम छैन । सहयोग विनाको हात काम छैन । स्वार्थले भरिएको प्रेम काम छैन । होस विनाको जोस काम छैन । पापसँगैको धर्म काम छैन । परोपकारविनाको जीवन काम छैन । योग्यता भएको मानिस कहिलेकाहीँ इमान्दार हुँदैन ।
 

एउटा अमेरिकी र एउटा जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गए । उनीहरुसंगै उत्रिए । एउटै होटलमा बसे । अमेरिकी कम्पनीका एजेन्टले आप्mनो कम्पनीमा फोन गरेर भन्यो– ‘यहाँ सबै खाली खुट्टा हिंड्दा रहेछन । कसैको ल्याकत रहेनछ  जुत्ता किन्ने । त्यसैले म फिर्ता आउँदैछु ।’ तर जापानी कम्पनीको एजेन्टले खबर पठाएछ– ‘यहाँ जुत्ता व्यापारको सम्भावना सतप्रतिशत रहेछ । एक लाख जोर जुत्ता तत्काल पठाउनू ।’ हेर्नुस त एउटा बजार पायो । एउटाले गुमायो । जो मानिस स्वर्ग जाने नाममा हुटहुटिएको हुन्छ, उसैले पृथ्वीलाई विगारेको हो । एउटा कवितालाई तोडियो भने शब्द मिल्छ , काव्य मिल्दैन । एउटा मानिसलाई काटेर हेरियो भने के हुन्छ । एउटा राम्रो चित्रलाई २, ४ रुपैयाँको रंग र कुचीको रुपमा परिभाषित गरियो भने के हात लाग्छ ? मूर्ति, पूmल तोडियो भने के हुन्छ ? तीन हजार वर्षदेखि कुतर्क चलिरहेको छ । आशावादी मानिसले जहाज बनाउँछ, निराशावादीले प्यारासुट बनाउँछ । यी दुवै नगर्ने मानिस जमिनमा बसेर आलोचना गरेर बस्छ ।

[email protected]

विशेष