महावीर पुनको सुझावः समृद्धि ल्याउने हो भने मैले देखाएको बाटो हिँड्नैपर्छ, अर्को उपाय छैन (भिडियो)
महावीर पुनका देश बदल्ने नयाँ अनुसन्धान योजना
काठमाडौं । जीवनशैली एकदम अव्यवस्थित देखिने । आफ्नै लहडमा हिँड्न रुचाउने एक अनौठो पात्र हुन् महावीर पुन ।
कसैले उनलाई घमण्डी पनि भन्छन् । कसैले ‘लहडी’ठान्छन् । तर नेपाली समाजमा उनको योगदान र पहल प्रेरणादायी छ । उनका महत्वाकांक्षी योजना पूरा भएको दिन देश समृद्धिको लयमा पक्कै हिँड्नेछ ।
अमेरिकाको सानदार व्यक्तिगत जीवनशैली छोडेरै ‘बेरोजगार बन्न’ नेपाल फर्किएका पुनले जब आफ्नो जन्मथलो म्याग्दीको दुर्गम गाउँलाई उज्यालो बनाए त्यसपछि चिन्यो उनलाई संसारले ।
बिडम्वना त के भने, विश्व समुदायले उनको कामको प्रसंसा गरेपछि नै हो आम नेपालीले उनलाई ठम्याएको । तर औपचारिकताबाट नितान्त टाढा आफ्नै ‘मूड’मा केही खोजिरहे झैँ छन् महावीर ।
लाग्छ, उनी एक भव्य सपनाको पछि पछि एक्लै दगुरिरहेका छन् । त्यसो त, उनका योजना महत्वाकांक्षी छन् । म्याग्दीमा ईन्टरनेटपछि अनुसन्धान केन्द्रको स्थापनाको लागि अहोरात्र खटिरहेका महावीरले हालै ड्रोन निर्माण गरेका छन् । जुन अनुसन्धान केन्द्रकै एक ‘प्रोजेक्ट प्लान’ थियो ।
यसरी आयो आइडिया
कालिकोटका केही युवाले दुर्गम गाउँमा औषधि पुर्याउन अप्ठ्यारो भयो भनी गुनासो गरेपछि महावीरलाई यस्तो ‘आइडिया’आएको थियो ।
यसअघि पनि ड्रोनका ‘डमी’नबनेका होइनन् । तर महावीरले तयार पारेको ड्रोन औषधि बोक्न कामकाजी हुनेछ । यसकै लागि लक्षित गरी उनले ड्रोन तयार पारेका हुन् ।
तत्कालका लागि नमुना भए पनि व्यवसायीक रुपमै ड्रोन संचालन गराउने योजना छ उनको । खासगरी दुर्गम गाउँमा औषधि पुृर्याउन प्रयोग गर्ने भन्दै आगामी ६ महिनाभित्र अरु पनि ड्रोन बनाइरहेका छन् ।
समृद्धि समृद्धि सपना
अहिलेको वाम–सरकारले समृद्धि योजना घाषणा गर्नुअघि नै महावीर निरन्तर समृद्धि सपनालाई पछ्याउँदैआएका छन् । आम मान्छेको भीड भन्दा परै रहेर उनी आफ्नो टीम सहित यसको अभियानमा निरन्तर छन् ।
त्यसो त, समृद्धिको योजना सरकारले भने जस्तो सजिलो नभएको ठम्याइ छ उनको । ‘आर्थिक उन्नती नगरिकन समृद्धि शब्दले मात्रै पुग्दैन,’ उनी भन्छन्, ‘पहिले राज्यले पैसा कमाउनु पर्यो । यसको लागि ब्यापार गर्नु पर्यो । अनुसन्धान गर्नुपर्यो । यो सब काम गर्न युवा प्रतिभा विदेसिने क्रम रोकिनु पर्छ ।’
महावीर पुनको समृद्धिको आधार एउटै हो, युवा प्रतिभा र जनशक्ति देशमै बसेर काम गर्नुपर्छ । त्यसैको लागि पनि अनुसन्धान केन्द्रको ‘कन्सेप्ट’आएको बताउँछन् उनी ।
अरु योजना
पुनको नेतृत्वमा रहेको राष्ट्रिय अनुसन्धान केन्द्रले एकपछि अर्को अनुसन्धानका योजना ल्याउँदै छ । ड्रोनपछि पनि अरु थुप्रै योजना एकसाथ अघि बढिरहेको बताउँछन् पुन ।
उनका अनुसार निकट भविष्यमा यार्सागुम्भालाई प्रशोधन गर्ने र औषधि बनाउने उद्योगको तयारी हुनेछ । यस्तै तराईमा ‘इको फ्रेन्ड्ली’ टेम्पो लगायत योजनामाथि खोज भइरहेको छ ।
आखिर महावीर पुनको यस्तो ‘लहड’समृद्धिकै लागि समर्पित छ । राज्यले साथ नदिएपछि ५० करोड रकम संकलन गर्दै अनुसन्धान केन्द्र स्थापनाको महाअभियानमा जुटेको उनको संस्थाले ६ करोड संकलन गरिसकेको छ । देश र विदेशबाट थुप्रै युवाले उनलाई साथ दिएका छन् । महावीर आफ्नो टीमका साथ निरन्तर छन् समृद्धिको यात्रामा ।
नेपालआजको टीमले पछिल्लो साता ठमेलस्थित पुनकै रेष्टुरेण्टमा पुगेर गरेको भिडियो अन्तरवार्तामा आफ्ना योजनाबारे खुलेर ब्याख्या गरेका छन् ।
‘समृद्धि र विकास’को नारा दिँदैआएको सरकारलाई पनि उनले केही घतलाग्दा सुझाव दिएका छन् । उनी भन्छन्, ‘केपी ओलीले भन्नुभएको समृद्धिले मात्रै सम्भव छैन । त्यो भन्दा अगाडि देशको प्रतिभा यहीँ कामकाजी बनाउनुपर्छ । विश्वका समृद्ध मुलुक यहाँ पुगेको आफ्नै देशका प्रतिभा र जनशक्तिले गर्दा हो ।’
पुन आफूले भन्दैआएको समृद्धि र सरकारले भनेको समृद्धि–विकासमा भिन्नता रहेको बताउँछन् । अन्ततः अनुसन्धान, उत्पादन र ब्यापार जस्ता आर्थिक आधारमा टेकेरै समग्र समृद्धि सम्भव भएको उनको सुझाव छ ।
ड्रोन महावीर पुन