खेल

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलतर्फ, बार्यनको लगातार ६ हार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलतर्फ, बार्यनको लगातार ६ हार

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको छ । सेमिफाइनलको पहिलो लेगमा जित निकाल्दै फाइनल यात्रामा आफ्नो पकड बलियो बनाएको हो ।

 

अवे मैदानमा बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिखमाथि २–१ को जित निकाल्दै रियल मड्रिडले लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यसहितको यात्रामा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको हो । 

 

घरेलु मैदानमा ४४ मिनेटसम्म १ शून्यको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बायर्न म्युनिख पराजित भयो । २८ औं मिनेटमा जोसुवा किम्मिचले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

 

तर, ४४ औं मिनेटमा डेनियल कार्भाहलको पासमा मार्सेलोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५७ औं मिनेटमा मार्को असेन्सियोले गोल गरेपछि रियल मड्रिडले अग्रता लियो । ७१ औं मिनेटमा रोनाल्डोले गोल गरे पनि रेफ्रीले ह्यान्ड बलको इसारा गरेपछि रियलले अग्रता बढाउने मौका गुमाएको थियो ।

 

धेरैजसो समय बल नियन्त्रणमा लिए पनि बायर्नले गोल थप्न नसक्दा खेल हानुपर्यो । यसअघि सेमिफाइनलकै पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमालाई ५–२ ले हराएको थियो ।

 

बार्यनले योसँगै रियल मड्रिडसँगका पछिल्ला ६ खेलमा हार बेहोरेको छ । कुनै पनि क्लबले लगातार धेरैपटक हार बेहोरेको च्याम्पियन्स लिगमा यो नै पहिलो पटक हो ।

 

रियल मड्रिडले सन् २०१० देखि २०१२ को बिचमा च्याम्पियन्स लिगमै अजाक्स विरुद्ध पनि लगातार ६ खेलमा जित निकालेको थियो । रियल मड्रिडले यो बार्यनमाथिको खेलमा जित निकाल्दै च्याम्पियन्स लिग जितमा कीर्तिमान नै बनाएको छ । 

च्याम्पियन्स लिग रियल मड्रिड

विशेष