उर्जा दशक चुनौतीपूर्ण तर सामना गर्न तयार छाैंः उर्जामन्त्री पुन
काठमाडौँ । जल, सिँचाई तथा उर्जामन्त्री वर्षमान पुनले २५ मेगावटको सोलार आयोजना समयमै पुरा हुने बताएका छन् ।
शुक्रबार नुवाकोटमा नेपाल सरकार मातहात नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिल्यानास गर्दै मन्त्री पुनले आफ्नो सामु यो दशक उर्जा दशक बनाउने चुनौती भएको बताउँदै चुनौती सामना गर्न तयार रहेको बताए ।
आगामी दुई वर्षसम्म औधोगीकरण नबढे विद्युत बचत हुने र अब विद्युतीय सवारी साधन प्रयोगलाई बढुवा दिने पनि मन्त्री पुनले उल्लेख गरे ।
‘हरेक घरमा आयातित सिलिण्डर ग्यास होइन, विद्युतीय चुल्हो हुनेछ,’ उनले भने, ‘विद्युत क्षेत्रबाट समग्र राष्ट्रको अर्थतन्त्रमा चमत्कारीक परिवर्तन हुनेगरि काम गर्छौ ।’
जलस्रोत देशकै ठूलो प्राकृतिक स्रोत भएको बताउँदै मन्नत्री पुनले उर्जा क्षेत्रमा मुलुक आत्मनिर्भर हुने तरिकाले काम गरिरहेको बताए । उनले भने, ‘विद्युत आयोजनाको निर्माण गर्दा सिँचाई र जलस्रोतको योजना एकीकृत रुपमा निर्माण गरिने छ ।’
मन्त्री पुनले मुलुकमा राजनीतिक संक्रमण सकिएको बताउँदै अब राजनीतिको कारण काम गर्न सकिएन भन्न नपाउने बताए । विगतमा जस्तो, ढिलासुस्ती, बहानाबाजी, भ्रष्टाचार सरकारले सहन नसक्ने बताउँदै अब मुलुकमा शुसाशन कायम हुने कुरामा कुनै सम्झौता नगर्ने मन्त्री पुनले उल्लेख गरे ।
उनले संघीयता बहुसमन्वयात्मक र सहभागीमुलक व्यवस्था भएको बताए । उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएन भने विकास निर्माणका काम अगाडी बढ्दैनन् ।’
मन्त्री पुनले विकासबाट जनता विस्थापित हुन हुँदैन भन्दै विकास आयोजनाबाट स्थानीयले लाभ लिन पाउनुपर्ने बताए । उनले वीआरआई अन्र्तगत (गल्छी, त्रिसुली) रसुवाढी अन्र्तदेशीय प्रसारण लाइन विस्तारको तयारी भइरहेको बताए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यसको सम्झौता हुनेछ ।’
उर्जामन्त्री वर्षमान पुन