आईटीएफः भारत च्याम्पियन, नेपाल दोस्रो
काठमाडौं । नेपाललाई हराउदै भारतले आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिप अन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिताको उपाधि जितेको छन् । शुक्रबार भएको फाइनलमा नेपाललाई हराएर भारतले ब्वाइज र गल्र्स दुवैको उपाधि जितेको हो ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले नेपाललाई २ – ० ले हरायो । ब्वाइज सिंगल्समा भारतका हर्ष फोगाटले नेपालका अकी जुवेन रावतलाई ७–५ र ६–१ तथा भारतका वंश नन्दलले आरभसम्राट हाडालाई ६–४ र ६–२ को सोझो सेटमा हराए ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्समा पनि नेपाल भारतसँग २ – ० ले नै पराजित भयो । गल्र्स फाइनलको सिंगल्समा भारतकी दुर्गान्सीले नेपालकी अजा रेग्मीलाई ६–० र ६–० को सीधा सेटमा पाखा लगाइन् ।
अर्को सिंगल्समा भारतकी अन्जली राथी प्रतिद्वन्द्वी नेपालकी शुभाङ्गीलक्ष्मी शाह विरुद्धको खेलमा ६–० र ३–१ ले अगाडि रहेको अवस्थामा शुभाङ्गी रिटायर्ड हर्ट भएपछि अन्जलीलाई विजयी घोषित गरिएको थियो ।
प्रतियोगिताको च्याम्पियन बनेको भारत र नेपालको ब्वाइज तथा गल्र्स दुवै टिम कजाकिस्तानमा आगामी नोभेम्बरमा हुने आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन् । यो च्याम्पियनसिपको विजेता र उपविजेताले कजाकिस्तानको यात्रा तय गर्ने प्रावधान रहेको थियो ।
प्रतियोगिताको ब्वाइजमा पाकिस्तान र गल्र्समा श्रीलंका तेस्रो भयो । ब्वाइजमा पाकिस्तानले श्रीलंका तथा गल्र्समा श्रीलंकाले भुटानलाई समान २–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
आईटीएफ