भिडियो समाज

वामसरकारलाई क्रिश्चियन नेताको प्रश्नः तपाईँहरुले नै हो धर्मनिरपेक्ष बनाएको, कति खानुभयो यूरोपको पैसा ? (भिडियो)

पशुपतिनाथमा छोराछोरी च्यापेर लैजाने, चर्चमा किन प्रतिबन्ध ?

वामसरकारलाई क्रिश्चियन नेताको प्रश्नः तपाईँहरुले नै हो धर्मनिरपेक्ष बनाएको, कति खानुभयो यूरोपको पैसा ? (भिडियो)

काठमाडौं । रामबहादुर थापा बादल गृहमन्त्रीमा वहाल भएको केही दिनमै एउटा अभिव्यक्ति दिए, ‘नेपालमा मन्दिर भत्काएर ईसाइकरण गरिँदैछ’ ।

 

उनको अभिव्यक्तिलाई एक पक्षले कसरी पनि बुझ्यो भने, धर्म निरपेक्षताको नारा बोकेर हिन्दुराज्यविरुद्ध युद्ध गरेको पार्टीका नेता बादलले अचानक इसाइकरण भएकोमा किन चिन्ता व्यक्त गरे ? 

 

अर्को पक्षका अनुसार राज्यको जिम्मेवार तहमा बस्ने मान्छे इसाइकरण भएको थाहा पाएपछि बोल्ने हैन, कारवाही गर्नुपर्छ । जे भए पनि बादलको अभिव्यक्ति विवादित भयो ।

 

त्यसो त, बादलकै पछिपछि कानुनमन्त्री शेरबहादुर तामाङ, अर्थमन्त्री युवराज खतिवडा र प्रधानमन्त्री स्वयंले इसाइकरणबारे अभिव्यक्ति दिन थाले ।

 

संविधानमै धर्म निरपेक्षता भनी उल्लेख गरिसकेपछि प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्री लगायत जिम्मेवार व्यक्तित्वबाट यस्ता अभिव्यक्ति सँगसँगै आउनुको पछाडि केही रहस्य त पक्कै छ ।


अर्थात् धर्मको विषयलाई उनीहरु किन यति ठूलो विषय बनाइरहेछन् ? ‘क्रिश्चियानिटी’को गुन्जायस छ भने त खास निकायबाटै हुन्छ । र ति निकायमाथि कारवाही गर्नसक्ने एकमात्र संयन्त्र सरकार हो ।

 

त्यसो भए प्रधानमन्त्री, गृहमन्त्रीले सार्वजनिक रुपमा भाषण गर्नु नै आफैँमा रहस्यमय विषय हो । नेपालआजले एकजना क्रिश्चियन अगुवा, (जो पेशाले कानुन व्यवसायी तथा मानवअधिकारकर्मी हुन्), बुद्ध घिसिङसँग बहस गरेका छौँ ।

 

‘क्रिश्चियनहरुलाई लक्षित गर्दै मन्त्रीहरुले दिएको अभिव्यक्तिलाई कसरी हेर्नुभएको छ ?’ भनी सुरुमै सोधेका थियौँ । घिसिङले आक्रोशित हुँदै मन्त्रीहरु पूर्वाग्रही बनेको र हिन्दु समुदायको मात्रै नेतृत्व गर्ने भन्दै गुनासो गरे ।

 

‘यो मुलुक मेरो पनि हो । म क्रिश्चियन भएकै कारण लखेटिनुपर्ने ?’, घिसिङले आक्रोशित हुँदै भने, ‘त्यसो भए उहाँ त मेरो प्रधानमन्त्री हुनुहुँदो रहेनछ नी ! जब संविधानमै छ कि, देशनिकाला गर्न नपाइने भनेर । प्रधानमन्त्री त हामीलाई देश निकाला गर्ने भन्दै हुनुहुन्छ भने यो अधिनायकवाद हो ।’

 

धर्म परिवर्तनको विषयलाई क्रिश्चियनसँग मात्रै जोडेर हेर्न नहुने भन्दै घिसिङले अहिलेको राज्य पूर्वाग्रही रहेको बताए । साथै उनले पश्चिमा मुलुकमा इसाइ संख्या अति न्युन रहेको तथ्यांक सहित नेपालमा पश्चिमा मुलुक र क्रिश्चियन समुदाय जोडेर हेर्ने गलत मानसिकता रहेको बताए ।

 

उनले भनेका छन्, ‘पश्चिमा मुलुकले यहाँ इसाइकरण गर्दैछ भने त सबैभन्दा पहिले राज्यलाई थाहा हुन्छ । क्रिश्चियन समुदायका सर्वसाधारण जनतालाई किन गाली गर्ने ? राज्य आफैँले इसाइकरण प्रभाव रोके भयो नी ।’

 

धर्मनिरपेक्षताको कुरा पनि आफूहरुको खास मुद्धा नरहेको भन्दै नेताहरुले नै धर्मको राजनीति गरिरहेको उनको गुनासो छ । साथै अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणबाट हेर्ने हो भने कुनै पनि धार्मिक समुदायले आफ्नो बारेमा बोल्न पाउँछ भन्छन् घिसिङ ।

 

उनको गुनासो छ, ‘पशुपतिनाथमा बालबालिका लैजान हुने, चर्चमा नहुने भन्न त मिलेन नी ।’ यसरी राज्य संयन्त्र स्वयं क्रिश्चियन समुदायविरुद्ध नियतवश् लागिरहेको उनको भनाइ थियो ।

बुद्ध घिसिङ धर्मनिरपेक्षता क्रिश्चियानिटी

विशेष