मुख्य समाचार स्वास्थ्य

प्रधानमन्त्रीलाई चिकित्सकको सल्लाह, १६ घन्टाभन्दा बढी काम नगर्नुस्

प्रधानमन्त्रीलाई चिकित्सकको सल्लाह, १६ घन्टाभन्दा बढी काम नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ । 

 

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । उनले भने, ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाब हामीले दिएका छौं।’  


अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिवेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । 

 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए । 

 

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाब दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए । 

 

‘देशले अहिले प्रधानमन्त्रीलाई आराम गर्न छुट त दिएको छैन,’ उनका निजी चिकित्सकले भने,’ ‘संक्रमणको उच्च जोखिममा परेर पनि प्रधानमन्त्रीले देश र जनताका हरेक गतिविधिमा संलग्न हुनुपरेको छ ।’

 

प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।
 

प्रधानमन्त्री केपी ओली चिकित्सक सल्लाह

विशेष