व्यापार फोटो

३ वर्षमा निर्माण सक्ने भनेको ‘मेरो सिटी हाउजिङ’ ८ वर्षमा पनि सकिएन्, निर्माण पक्ष सम्पर्कविहीन

९० प्रतिशत रकम तिरिसक्दा पनि निर्माण नसकिएपछि उपभोक्ताहरु आक्रोशित

३ वर्षमा निर्माण सक्ने भनेको ‘मेरो सिटी हाउजिङ’ ८ वर्षमा पनि सकिएन्, निर्माण पक्ष सम्पर्कविहीन

नेत्र पौडेल/तस्बिरः चन्द्र राई 

 

ललितपुर । हात्तीवनको हरिसिद्धिस्थित ३ वर्षमा निर्माण गरिसक्ने भनिएको ‘मेरो सिटी हाउजिङ’ ८ वर्षमा पनि नसकिएपछि उपभोक्ताहरु आक्रोशित बनेका छन् ।

 

उनीहरुले बारम्बार निर्माण कम्पनीलाई दबाब दिए पनि निर्माण कम्पनीले अझै निर्माण कार्यमा तीब्रता देखाएका छैन । बरु पछिल्लो समय उपभोक्ता र निर्माण कम्पनीबीच विवाद बल्झिएको छ ।

मेरो सिटी हाउजिङको निर्माण कम्पनी रोयल अर्किड डेभ्लपर प्राइभेट लिमिटेडले लापरबाही गरेको भन्दै उपभोक्ताहरु आक्रोशित बनेका हुन् । हाउजिङ निर्माण कार्य उपभोक्तासँग गरेको सम्झौताभन्दा ५ वर्ष ढिलो भएको छ । सम्झौताअनुसार सन् २०१३ मै उपभोक्तालाई हस्तान्त्रण गरिसक्नु पर्ने हो ।

सन् २०१० मा उपभोक्ताबाट पैसा उठाएर दुई वर्षमै आपर्टमेन्ट हस्तान्त्रण गर्ने गरी निर्माण कार्य सुरु गरेको रोयल ओर्किडले अहिलेसम्म पनि निर्माण सम्पन्न गर्न सकेन । आफ्नै अपार्टमेन्टमा बस्न पाइने सपना देखेर ९० प्रतिशत रकम बुझाइसकेको उपभोक्ताहरु बताउँछन् ।

 

कम्पनीका अनुसार तीनवटा भवनमा ३०५ वटा अपार्टमेन्ट रहेको मेरो सिटी हाउजिङमा दुई सयभन्दा बढी ग्राहकले आपर्टमेन्ट होल्ड गरिसकेका छन् । पार्किङलगायतका अत्याधुनिक सुविधायुक्त रहेको आर्कषक विज्ञापन गर्दै निर्माण कम्पनीले आपार्टमेन्ट होल्डका लागि उपभोक्तालाई आह्वान गरेको थियो । कम्पनीले भने भूकम्प, सामाग्री अभावलगायत विभिन्न बाहना देखाउँदैआएको छ । 

पछिल्ला केही महिनायता उपभोक्ताहरु संगठित रुपमै जतिसक्दो छिटो हाउजिङ निर्माण कार्य सम्पन गर्नका लागि दबाब दिँदैआएका छन् । गत माघमा उपभोक्ता र निर्माण पक्षबीच बसेको बैठकमा उपभोक्ताले निर्माण पक्षलाई हाउजिङ निर्माण सक्नका लागि १६ महिनाको अल्टिमेटम दिएका थिए । साथै समयमै निर्माण कार्य नसकिए उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेका थिए ।

 

अल्टिमेटमपछि पनि कम्पनीले अपेक्षाकृत रुपमा काम गर्न नसकेको गुनासो उपभोक्ताहरुको छ । उनीहरुका अनुसार निर्माण कम्पनीले अबको १६ महिनामै निर्माण कार्य पूरा गर्न सम्भव छैन ।

 

गत मंगलबार मात्रै उपभोक्तासँगको छलफलका क्रममा कम्पनीका तर्फबाट विशाल अग्रवालले समयमै निर्माण कार्य सम्मपन्न हुनेमा ढुक्क हुन आग्रह गरेका थिए । कम्पनीका मालिक गणेश अग्रवाल भने सम्पर्कविहीन अवस्थामा छन् । कम्पनीका मालिक गणेशको सम्पूर्ण काम उनका भतिजा विशालले हेर्दआइरहेको एक उपभोक्ताले नेपालआजलाई बताए ।

तर उपभोक्ता भने कम्पनीले पटकपटक विश्वास तोडेकाले विश्वस्त हुन पक्षमा छैनन् । नाम नखुलाउने शर्तमा एक उपभोक्ताले नेपालआजसँग भने, ‘कम्पनीको विगतको व्यवहार र काम चित्त बुझ्दो नभएको भन्दै लिखितम्मा दिन माग गर्नुका साथै समयमै निर्माण कार्य सम्पन्न नभएको आवस्थामा क्षतिपूर्तिको माग गरेका थियौँ ।’

 

उनका अनुसार कम्पनीका तर्फबाट आएका विशाल र उनका साथमा आएका एक वकिल परशुराम कोइरालाले उपभोक्तालाई क्षतिपूर्तिका सम्बन्धमा स्पष्ट पार्न चाहेनन् । उनहरुले आफ्नो कम्पनीले अबको १६ महिनामा हाउजिङ निर्माण सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्ने कुरा पटक पटक दोहोर्याइरहे ।

 

प्रायः बैठकहरु निर्णय विहिन हुन्छन् । उपभोक्ता आक्रोश पोख्छन् र सम्झौतालाई पुनः विचार गर्न माग गर्छन् । तर, निर्माण पक्षको एउटै अडान हुुन्छ–सम्झौता पुनः विचार असम्भव छ ।

निर्माण कम्पनीले सातदोबाटोबाट १.२ किलोमिटर टाढा हात्तीवनस्थित ८२ हजार १ सय ४० वर्ग फिट क्षेत्रफलमा भूकम्प प्रतिरोधी तीनवटा टावरमा स्वचालित २ वटा इलाभेटरसहित चौविसै घण्टा पानीको सुविधाका १८ लाख देखि ५४ लाखसम्म मूल्य पर्ने ३०५ वटा अपार्टमेन्ट बनाउने भन्दै काम गरेको हो ।

 

सन् २०१० ग्राहकसँग दुई वर्षमा अपार्टमेन्ट हस्तान्तरण गर्ने सम्झौता सहित निमार्ण कार्य सुरु गरे पनि सन् २०१८ को तेस्रो महिना सकिँदा पनि निर्माण कार्य अझै बाँकी छ ।

 

हाउजिङमा पार्किङ, रङरोगन, टायल, स्वीमिङ पुल, लाइटिङलगायत काम बाँकी नै छन् । रोयल अर्किडले झण्डै ७०–८० जना कामदारहरु खटाएको भए पनि बाँकी २० प्रतिशत काम अबको १६ महिनामा सम्पन्न हुनेमा शंका उब्जिएको हो ।

 

हाउजिङ निर्माणमा भएको ढिलाइका विषयमा नेपालआजले निर्माण कम्पनीका आधिकारी व्यक्ति विशाल अग्रवाललाई सम्पर्क गर्ने प्रयोस गरेको थियो । उनले मिडियालाई यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । 

हरिसिद्धि हाउजिङ मेरो सिटी हाउजिङ उपभोक्ता

विशेष