मुख्य समाचार स्वास्थ्य

राज्यमन्त्री अर्यालले अस्पतालको लाइन घटाउन यसरी पहल थालिन्

राज्यमन्त्री अर्यालले अस्पतालको लाइन घटाउन यसरी पहल थालिन्

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले उपचार सेवाका लागि सरकारी अस्पतालमा आउने बिरामीले लाग्नुपर्ने लाइन घटाउन पहल थालेकी छिन् । सामान्य चेकजाँचदेखि सर्जरी गराउनेसम्म लामो लाइन छिचोल्नुपर्ने बाध्यता रहेको भन्दै घटाउन पहल थालेकी हुन् ।

 

गुणस्तरीय स्वास्थ्य सेवा सहित बिरामीले उपचारका क्रममा भोग्नुपर्ने सास्तिकमो समाधानका लागि बिहीबार स्वास्थ्य मन्त्रालयमा दुई छुट्टा छुट्टै छलफल चलाएकी छिन् । पूर्व स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक लगायत नीति निर्माणमा संलग्न व्यक्तित्वसँग १२ बजेदेखि २ बजेसम्म र विभिन्न अस्पतालका निर्देशक, चिकित्सक र आइएनजिओमा कार्यरत डाक्टरसँग ३ बजेदेखि ५ बजेसम्म छलफल चलाएकी हुन् ।

 

जनताले उपचारका क्रममा बेहोरिरहेको सास्ति हेरर बस्न नसकिने भन्दै यसलाई हटाउने उपाय सुझाउन राज्य मन्त्री अर्यालले आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘विगतको अवस्था मूल्यांकन गर्दा स्वास्थ्यमा फड्को मारेजस्तो देखिन्छ । तर, यसले मात्रै सन्तुष्ट हुन सकिदैन । अहिले जुन अवस्था छ, त्यसको समाधान पनि खोज्नुपर्छ ।’

 

हप्तामा २१ घन्टा मात्रै सर्जरी सेवा दिइरहेको पाइएको भन्दै सर्जरी गर्नेको लाइन ७ देखि ९ महिनासम्म पुगेको उनले दर्शाइन्।

 

छलफलमा आफ्ना विचार राख्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा अञ्जनी कुमार झाले रिफरल प्रणालीको विकास गर्न जरुरी रहेको बताए। उनले भने, ‘वीर जस्ता अस्पतालमा जिल्ला र अञ्चलमा उपचार पाउन नसकेका बिरामीको उपचार हुने व्यवस्था भए मात्रै उक्त समस्याको समाधान हुन सक्छ ।’

 

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले मन्त्रालयको अनुगमन शशक्त बनाउनुपर्ने धारणा राखे । यसका साथै प्रहरी अस्पताललगायतलाई पनि सर्वसाधारणका लागि खुला गर्नुपर्ने बिचार राखे । 


राष्ट्रि चिकित्सक संघका अध्यक्ष सन्तोष पाण्डेको भने एक संस्था एक डाक्टरको अवधारणाले यो समस्याको समाधान गर्न सक्ने धाराणा थियो । 

 

वरिष्ठ चिकित्सक तिर्था राणाले डाक्टरहरुकै कारण यस्तो अवस्था आएको बताइन् । डाक्टरहरुले पूरा समय सरकारी अस्पतालमा काम नगर्ने गरेको बताउँदै समन्वयको अभाव समेत रहेको दर्शाइन् । 

 

स्वास्थ्य राज्यमन्त्री अर्यालले दुई सिफ्टमा काम गरेर भएपनि शल्यक्रियामा लाइन घटाउन गरेको प्रस्तावमा धेरै चिकित्सकले जनशक्तिको अभाव दर्शाए । वीर अस्पतालका निर्देशक डा भूपेन्द्र श्रेष्ठले शल्यक्रियापछि राख्ने ठाउँको अभावका कारण अपेक्षित सेवा दिन नसकिएको बताए । एउटा भवनमा एक सय र अर्कोमा ६ सय ५० बेड थप्ने तयारी गरिरहेको बताउँदै त्यसपछि भने सहज हुन सक्ने दर्शाए । 

 

निक साइमन्स इन्सिच्युटका निर्देशक डा अनिल बहादुर श्रेष्ठले केन्द्रीय अस्पतालको चाप घटाउन जिल्ला अस्पतालको क्षमता विकास गर्न सझाए । उनले भने, ‘जिल्ला अस्पतालमा उपचार लिने, उपचार सेवा दिने र स्वास्थ्य मन्त्रालय तिनै खुशी छैनन् । त्यसैले यी अस्पतालको स्तर सुधार जरुरी छ ।’

 

कार्यक्रमको अन्त्यतिर बोलेका वरिष्ठ चिकित्सक डा अर्जुन कार्कीले रिफरल प्रणालीको सुँगा रटाइले मात्रै कहीँ नपुगिने बताए । तत्कालका लागि मुगुबाट उपचार गर्न आउने र भक्तपुरबाट आउनेको समस्या बुझेर। उपचार गर्न सकिए मात्रै पनि सर्वसाधारणले राहतको महशुस गर्न सक्ने धारणा राखे । उनले भने, ‘केही राम्रो काम गर्ने अपेक्षा सहितको यस्तो छलफल सह्रानीय छ । तर, नतिजाका लागि भने सानो विज्ञको समूह बनाएर कसरी अघि बढ्ने ? भन्ने विषयमा कार्ययोजना नै बनाउन लगाउनुपर्छ ।’

 

छलफलमा स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

बिरामी पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री लाइन पहल

विशेष