यी हुन् ८ आर्कषण जसले गर्दा आईजीपी बन्न मरिहत्ते गर्छन्, प्रहरी
क्षमतावान प्रहरी अधिकारीको छवि बनाएका नवराज सिलवाल र जयबहादुर चन्दबीच गत वर्ष फागुनमा महानिरीक्षक पदका लागि त्यत्रो लफडा होला भन्ने कमैले कल्पना गरेका थिए।
सिलवाल र चन्दबीच तल्लो तहमा उत्रिएरै महानिरीक्षक को बन्ने भनेर भएको टकराब धेरैको स्मरणमा अझै ताजै छ।शक्तिकेन्द्र एवं नेता रिझाउने भित्री खेल एउटा पक्ष हो चन्द र सिलवाल म महानिरीक्षक बन्नुपर्छ भन्दै अदालतसम्मै पुगे। प्रहरीका बहालवाला एक जना अधिकृत भन्छन्, ‘महानिरीक्षक बन्ने त्यो खेलमा दुवैले हारे। प्रहरी संगठनकै बेइज्जती भयो।’
हुन पनि विवादमा मुछिँदै सिलवाल नाटकीय रुपमा एमालेबाट सांसद हुन सफल भएका छन्। सरकारको निर्णय स्वीकार्दै एआईजीमा बढुवा भएका चन्द कार्यकाल सकेर चैत २८ मा घर फर्किंदैछन्।
प्रहरी महानिरीक्षक बन्न किन यत्रो मरिहत्ते हुन्छ त ?
आईजीपीका ८ आकर्षण :
१. ७२ हजारको कमाण्डर
नेपाल प्रहरीमा हाल ७२ हजार ७३३ जनशक्ति रहेको छ। प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा रहेका विभाग, प्रतिष्ठान, आयुक्तको कार्यालय र प्रदेश प्रहरीको कमाण्डर समेत प्रहरी महानिरीक्षकै हुन्छ।
२. सपनाको पद
प्रहरी सेवाको ३० वर्षे पदावधिमा कारवाही र कोपभाजनमा नपरे प्रहरी निरीक्षकबाट नियुक्ति पाएको व्यक्ति आफ्नो कार्यकालमा प्रहरी महानिरीक्षकका लागि दावेदार हुनपुग्छ। प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नेहरुको एउटा सपनै हुन्छ– महानिरीक्षक बन्ने।
३. पहुँच, प्रतिष्ठा र प्रभाव
देशका ७७ जिल्ला, सात प्रदेश र संघीय राजधानीको सुरक्षा, सूचना र म्भावित उथलपुथलमा प्रत्यक्ष जोडिने पद हो, प्रहरी महानिरीक्षक। राजनीतिक दलका नेतृत्वको पलपलका गतिविधिको प्रहरीले आँखाले सबैभन्दा नजिकबाट हेरिरहेको हुन्छ। यसर्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‘रियल टाइम’ सूचनामा रहन्छन् प्रहरी महानिरीक्षक। प्रहरी संगठनमा प्रतिष्ठाको रुपमा लिइने अन्तरदेशीय अपराध, प्रतिआतंकबाद र प्रमुख कारवाहीमा प्रत्यक्ष जोडिने अवसर महानिरीक्षकलाई हुन्छ।
४. खरिद–बिक्रीको कमिशन
प्रहरीभित्र ठेक्कापट्टा पारदर्शी र वैज्ञानिक नहुँदा प्रहरी महानिरीक्षकको आर्कषण ठेक्कापट्टा समेत बन्दै आएको छ। प्रहरीमा वार्षिक ८० करोडदेखि एक अर्वभन्दा बढीको नियमित खरिद प्रक्रिया रहन्छ। यो बाहेक विशेष अवस्थामा हुने खरिद र ठूला योजना अन्र्तगतको खरिदको कारोबार अर्ब रुपैयाँभन्दा बढीको हुन्छ।
प्रहरीले लत्ताकपडा, बन्दोबस्ती र खाद्यको खरिद प्रक्रिया सार्वजनिक गर्न कानूनले बाध्य बनाएको छ। तर वर्षेनी गरिने हातहतियार, गोलीगठ्ठा र सामरिक वस्तुको खरिद गोप्य रुपमा हुनेगर्छ।
५. दुई अर्ब रुपैयाँको कोष परिचालनकर्ता
प्रहरी कल्याण कोषमा हाल सञ्चित रकम साढे दुई अर्ब रुपैयाँ रहेको छ। कोष अन्र्तगत हुने आर्थिक तथा सामाजिक गतिविधिमा प्रहरी महानिरीक्षकको प्रत्यक्ष सहभागिता रहन्छ। प्रहरी र तिनका परिवारलाई उपचार गर्न भनेर सञ्चालित प्रहरी अस्पताल महानिरीक्षककै सचिवालय मातहतमा छ।
६. असीमित शक्तिको बागडोर
सम्पत्ति शुद्धिकरण, राजस्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता आर्थिक अनियमितता छानवीन गर्ने निकायको कार्यान्वयन फ्याक्टरमा प्रहरीको भूमिका प्रत्यक्ष रहन्छ। यो बाहेक राष्ट्रको अर्थतन्त्रकै ‘लाइफ लाइन’ मानिने भन्सार कार्यालयहरुको कार्यान्वयन पक्षमा प्रहरी संलग्न रहन्छ। तर यो ओपन सेक्रेट हो त्यहाँ सधैँ कानुन कार्यान्वयन मात्र हुँदैन। ती अड्डाहरुमा प्रहरीले गर्ने अवैध कमाइको ‘कनेक्सन महानिरीक्षकसम्मै हुनेगर्छ।
७.सरकारको सफलता/असफलताको कडी
देशको शान्ति सुव्यवस्थाका लागि प्रहरीको भूमिका सबैभन्दा आधारभूत रहन्छ। पूर्ण सुरक्षा प्रत्याभूति रहेको अवस्थामा मात्र आर्थिक, सामाजिक तथा राजनीतिक गतिविधि निर्वाध सञ्चालन हुनसक्छन्। र यो नै सरकारको सफलता र असफलताको मापक पनि हो। प्रहरी महानिरीक्षकले लिने अडान, निर्णय र कमाण्ड क्षमतासँग पूरै सरकारको सफलता जोडिएको हुन्छ। देशका माफिया, कालोबजारी र तस्करसँग साँठगाँठ भएको प्रहरी अधिकारीलाई महानिरीक्षक बनाउँदा सरकारले त्यसको परिणाम भोग्नु परेको दृष्टान्त प्रशस्त छन्।
८. अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार
इन्टरपोलको नेपाल प्रमुख प्रहरी महानिरीक्षक नै हुन्छन्। यस्तै संयुक्त राष्ट्र संघ अन्र्तगतका प्रहरीसम्बन्धी गतिविधि, एशिया तथा दक्षिण एशिया क्षेत्रका प्रहरी संगठनको नेपाल फोकल पर्सन महानिरीक्षक नै हुन्।
अन्र्तराष्ट्रिय क्षेत्र र व्यक्तिसम्म प्रहरी महानिरीक्षक प्रत्यक्ष जोडिने भएकाले यो पदमा रहँदा उसको सम्बन्ध स्वतः अन्तर्राष्ट्रिय स्तरमा पुग्नेगर्छ।