खेल

उत्कृष्ट प्रदर्शन गरे पनि अार्मीसँग निरीह बन्याे पुलिस

उत्कृष्ट प्रदर्शन गरे पनि अार्मीसँग निरीह बन्याे पुलिस

विराटनगर । विराट गोल्डकपको बिहीबार अन्तिम क्वार्टरफाइनल खेल हुँदै छ। खेल मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्बलबीच हुने आयोजकले जनाएको छ। 

 

यस्तै, बुधबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आर्मीले साबिक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो।

 

निर्धारित ९० र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको हो।

 

खेल अवधिभर पुलिसले उत्कृष्ट प्रदर्शन गरे पनि फिनिसिङ फितलो हुँदा पराजय व्यहोर्नु पुग्याे । पुलिसले गोलका लागि पाएको आधा दर्जन अवसर सदुपयोग गर्न सकेन भने चार वटा अवसरमा आर्मी पनि चुकेको थियो। 

 

आर्मीको जितमा गोलरक्षक विकेश कुथुको भूमिका महत्वपूर्ण रहयो। उनले पेनाल्टी सुटआउटमा नेपाल पुलिसको एउटा प्रहार रोक्न सफल भए।

 

आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दीपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो। पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोस्टको दिशा लिन सक्यो। 

 

निरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भयो। राईको प्रहार गोलरक्षक कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरिँदा आर्मी भाग्यमानी ठहरियो।

 

खेल टाइब्रेरकमा जाने निश्चित भएपछि अन्तिम समयमा पुलिसले गोलरक्षक परिवर्तन गरेको थियो। सत्रु चौधरीका ठाउँमा मैदान प्रवेश गरेका रोशन खड्काको भूमिका सन्तोषजनक रहेन। 

 

उनले आर्मीको पेनाल्टी सुटआउटलाई नियाल्नसम्म पनि भ्याएनन्। खेलको म्यान अफ दी म्याच नेपाल पुलिसका रवी पासवान घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए।

 

पुलिसलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको आर्मीले शुक्रबार झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल पुलिस क्लब, नेपाल अार्मी

विशेष