खेल

३ देशका कप्तान सहभागी खेलमा पारसकाे टिम विजयी

पवन सर्राफकाे उत्कृष्ट अलराउन्ड प्रदर्शन

३ देशका कप्तान सहभागी खेलमा पारसकाे टिम विजयी

पवन सरार्फको अलराउण्ड प्रदर्शनको मद्दतमा विराटनगर किङ्गसले धनगढी प्रिमियर लिगमा दोस्रो जित निकालेको छ । उसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हरायो ।

 

विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

 

टिम चाैराहले ५२ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । सम्हारेर खेल्न नसक्दा चौराहाको विकेट झर्ने क्रम रोकिएन । चौराहाका लागि शंकर रानाले २५ रन बनाउदा अस्फाक अहमदले २२ तथा राजु रिजालले १८ रन जोडे ।

 

सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाए पनि हारबाट बचाउन सकेनन । बलिङतर्फ विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र वसन्त रेग्मीले समान दुई/दुई विकेट लिए ।

 

संघीय इकाइ प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले अन्तिम बल खेल्नुअघि सबै विकेट गुमाएर १२७ रन बनायो ।

 

विराटनगरको सुरुवात राम्रो थिएन । टिमको स्कोर १० रन हुँदा ओपनर दिलिपनाथ व्यक्तिगत ४ रनमा आउट भएका थिए । अनिलकुमार साहले बाबर हातायसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे । 

 

दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका अनिल २४ रनमा आउट भए । लगत्तै बाबर हायात पनि १५ रनमा पेभेलियन फर्किएपछि विराटनगरले ४५ रनमा तेस्रो विकेट गुमायो ।

 

कप्तान पारस खड्का पनि दुई रनमा आउट भए । तर, पवन सर्राफले आक्रामक पारी खेले । उनले सुभम कामतसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे भने मञ्जित श्रेष्ठसँग २७ रनको पार्टरसिप गरे । सरार्फले ३४ बलमा ४१ रन बनाए ।

 

चौराहाका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुई/दुई विकेट हात पारे पनि टिमलार्इ हारबाट जाेगाउन सकेनन् ।

 

प्रतियोगिताकाे अर्को रोचक पक्ष यस्ताे छ– विराटनगर किङ्ग्स सम्हालेका पारस खड्का नेपालका टिम कप्तान हुन् । त्यस्तै विराटनगरबाटै खेलिरहेका रहेका बाबर हायात हङकङका टिम कप्तान हुन् भने टिम चौराहा धनगढीबाट खेलिरहेका रोहन मुस्तफा युएईका टिम कप्तान हुन् ।

प्रिमियर लिग पवन सर्राफ अलराउण्ड प्रदर्शन

विशेष