अर्थ भिडियो कभर स्टोरी अन्तरवार्ता

अर्थविद् अधिकारीको टिप्पणीः अल्छि सरकारी कर्मचारीलाई पेन्सन दिन सकिन्न ! (भिडियाे)

समृद्धि–विकास शंकाकै घेरामा

अर्थविद् अधिकारीको टिप्पणीः अल्छि सरकारी कर्मचारीलाई पेन्सन दिन सकिन्न ! (भिडियाे)

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्र जारी गरेको एक साता बितिसक्यो । यसबारे अर्थविद्का विभिन्न टिप्पणी आए । अर्थमन्त्री खतिवडाले भने झैँ देशको अर्थतन्त्र धरापमै छ त ? भन्ने चासो र चिन्ता यथावत छ ।

 

अर्थविद डा. चन्द्रमणि अधिकारीलसँग पनि हामीले नेपालको अर्थतन्त्रमाथि बहस गरेका थियौँ । नेपालआजको लागि प्रताप ओलीले गरेको अन्तरवार्तामा अधिकारीले नेपालको अर्थतन्त्रबारे गहिरो ब्याख्या गरेका छन् ।

 

नेपालको अर्थतन्त्र मुख्य रुपमा रेमिट्टेन्स र राजश्वबाट चलिरहेको भन्दै राजश्वबाट उठेको रकमभन्दा उपभोगको आकार बढेकाले थप चुनौती देखिएको उनको विश्लेषण छ ।

राज्य व्यवस्था संघीयतामा गएको बेला थप चुनौती देखिने पनि उनले बताएका छन् । अर्थमन्त्री खतिवडाले देखाएको अर्थतन्त्रको चित्रबारे वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।


वाम सरकारलाई चुनौती

अर्थतन्त्र सुधार्न वाम सरकारारलाई धेरै चुनौती रहेको उनको भनाइ थियो । तीन मुख्य चुनौती अहिलेको सरकारले सामना गर्नुपर्ने अधिकारीले इंगित गरेका छन् ।

 

१. व्यवहारमा समस्या

नेपाली राजनीतिज्ञ, प्रशासनिक निकाय तथा योजनाकारहरु परम्परागत सोच र व्यवहारबाट हिँडिरहेको उनको टिप्पणी छ । सहअस्तित्वमा आधारित संघीयता अनुरुप सोच र व्यवहार परिवर्तन गर्नुपर्ने चुनौती रहेको उनले संकेत गरे ।

 

स्थानीय सरकारलाई विश्वास गर्ने, उसको कामकारवाही क्षमता योग्य बनाउनुपर्ने चुनौती रहेको उनले बताए ।


२. स्रोत साधनको व्यवस्थापन

देश संघीयतामा गइसकेपछि संघीय प्रणालीले जन्माएका स्थानीय निकायका पदाधिकारी, प्रादेशिक पदाधिकारी संवैधानिक कानुनले मागेका पदाधिकारी र मौलिक हकले मागेको स्रोत साधन व्यवस्थापन गर्नु वाम सरकारको अर्को चुनौती रहेको अधिकारीको बुझाइ छ ।


३. जनशक्ति व्यवस्थापन

देशबाट विदेशिएको ४४ लाख युवा व्यवस्थापन गर्नु अर्को ठूलो चुनौती रहेको अधिकारीले बताएका छन् । विदेश गएका युवा तथा बेरोजगारलाई श्रम श्रृजना गर्दै त्यसबाट राज्यले आम्दानी पनि गर्नसक्ने उनको सुझाव छ ।


कक्टेल अर्थतन्त्र

नेपालको अर्थतन्त्रमाथि ब्यंग्य गर्दै उनले यस्तो अर्थतन्त्रलाई ‘ह्विस्की र बियरको कक्टेल’को संज्ञा दिए । ‘नेपालमा आर्थिक अनुशासन छैन । भ्रष्टाचार मौलाएको छ, कर नतिर्ने चलन छ, राजनीतिमा व्यवसाय र व्यवसायमा राजनीति छिरेको छ,’ अर्थविद् अधिकारीले नेपालआजसँग भने, ‘ह्विस्की र बियर मिसाएको कक्टेल प्रवृत्ति अर्थतन्त्रमा मौलाएको छ । जसले गर्दा अर्थतन्त्रमा सुधार भएन ।’

 

उनका अनुसार राजनीति र व्यवसायको सिमारेखा नै स्पष्ट नभएकाले हरेक ठाउँमा आर्थिक चलखेल हुँदैआएको छ । साथै राजनीति र व्यवसाय बीच अनुशासन आएको अवस्थामा अर्थतन्त्रमा सुधार हुने उनको तर्क छ । उनले थपे, ‘उद्योग गर्नेले उद्योग नै गर्नुपर्छ, राजनीति गर्नेले राजनीति नै गर्नुपर्छ । यसले मात्रै पनि आर्थिक अवस्था सुधारिन सक्छ ।’

 

यस्तै वाम सरकारले आफ्नो एजेन्डा नै बनाएको ‘समृद्धि र विकास’ बारे आशंका व्यक्त गरेका छन् । सरकारले दाबी गरे झैँ ‘५ वर्षमा समृद्धि र विकास’ सम्भव होला भन्ने कुराको आधार तयार भइनसकेको अधिकारीले बताए ।


सरकारी कर्मचारी अल्छि !

सरकारी कर्मचारीको स्वेच्छिक अवकाशको कुराले नेपालको अर्थतन्त्रमाथि खतराको घण्टी बजाएको छ । डा. अधिकारीका अनुसार कर्मचारीलाई अहिले पेन्सन दिन नै मुस्किल पर्नेछ ।

 

बरु सरकारी कर्मचारी हाजीर गर्ने तर उपलब्धि नदिने अल्छि भएको उनको टिप्पणी थियो । निजी कम्पनीका कर्मचारीसँग तुलना गर्दै उनले भने, ‘निजी कर्मचारी प्रतिफल देखाउँछन् । तर सरकारी कर्मचारी हाजीर गरेरै दिन काट्छन् ।’

डा. चन्द्रमणि अधिकारी अर्थमन्त्री श्‍वेतपत्र युवराज खतिवडा

विशेष