खेल मुख्य समाचार

क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा

क्रिकेट रंगशाला बनाउने ठाउँ हेर्न धुर्मुसको टोली पोखरामा

पोखरा । क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेको छ ।

 

धुर्मुससहित आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे, प्रदेश सांसद तथा क्रिकेट संघका पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, सञ्चारकर्मी रवि लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायत क्रिकेटसँग सम्वद्ध संघसंस्थाका प्रतिनिधिले सम्भावित ठाउँको अवलोकन गरेको हो ।

 

टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदान, पोखरा लेखनाथ महानगरपालिका ३ मा पर्ने नगर प्रशिक्षण केन्द्र स्थित खेल मैदान, महानगरपालिका २० पट्नेरीस्थित पशुपति आर्यघाट र महानगरपालिका २५ हेमजाको लामपाटनस्थित मैदानको अवलोकन गरेको थियो ।

 

यीमध्ये पोखरा रंगशालाको क्रिकेट मैदान सबैभन्दा उपयुक्त देखिएको बताइएको छ । पोखरामा हेरिएका चारवटै मैदान क्रिकेट रंगशाला बनाउन उपयुक्त देखिए पनि रंगशालाको मैदान सबैभन्दा उपयुक्त भएको निश्कर्ष निकालिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

 

‘सम्भावित भनिएका चारवटै स्थानबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खला देखिन्छ, तर रंगशाला सबै हिसाबले उपयुक्त देखिन्छ’ उनले भने । मैदानमा २० हजार क्षमताको मात्रै रंगशाला बनाउन सकिने यसअघि गरिएको विस्तृत परियोजना प्रतिवेदनमा देखिएकाले जग्गा बढाउनुपर्ने निश्कर्ष निकालिएको छ ।

 

अन्तर्राष्ट्रिय स्तरको करीब ३५ हजार दर्शक अटाउने क्षमताको रंगशाला बनाउनका लागि थप जग्गा आवश्यक पर्ने र त्यसका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जग्गा उपलब्ध गराउन सकिने बताएपछि त्यसमा धुर्मुससहितको टोली सकारात्मक देखिएको स्रोतले बताएको छ ।

 

नगर प्रशिक्षण केन्द्रको मैदान १ सय २० रोपनीको छ भने पट्नेरीस्थित पशुपति आर्यघाटको मैदान २ सय रोपनीको छ । त्यस्तै हेमजाको लामपाटनस्थित मैदान १ सय ५० रोपनीको छ ।

 

क्रिकेट रंगशाला बनाउन सम्भावित ठाउँहरुको अवलोकनपछि अभियन्ता धुर्मुसले सुन्दर तथा पर्यटकीय नगरी पोखरा क्रिकेट मैदान बनाउनका लागि उपयुक्त रहेको बताए ।

 

 

धुर्मुस अन्तर्राष्ट्रिय रंगशाला

विशेष